यसरी कालापत्थर बन्दैछन् हिमाल

यसरी कालापत्थर बन्दैछन् हिमाल

केन्द्रबिन्दु
154
Shares

सोलु। सोलुखुम्बु जिल्ला भन्ने वित्तिकै सबैको मनमा आउने शव्द हो, हिउँले ढाकी रहने जिल्ला अनि कति चिसो होला। तर हिमाली जिल्ला भएपनि केहि बर्ष यता यो हिउँ अनि चिसो यहाँका बासिन्दाले विर्सन थालेका छन्।

जलवायु परिर्वतनको असर हिमाली जिल्लालाई पूर्ण रुपमा परिसकेको छ । हिउँले छोपी रहने हिमालहरु कालापत्थरमा परिणत भएर देखिन थालेको छ। हिमालको काखमा रहेका बस्तीहरुमा लामखुट्टेले आफ्नो धुन हाल्न थालि सकेको छ।

विकासका नाममा बनेका सकडबाट उडेका धुलो, त्यही धुलोमाथि गुड्ने यातायातका साधनले छाड्ने धुवाँको मुस्लोले आकाशमा तुवाँलो बढाई दिएको छ।

सदरमुकाम नजिकै देखिने दुधकुण्ड हिमाल समेत विस्तारै रुप फेर्दैछ। विश्वको सर्वाेच्च शिखर सगरमाथाले रुप फेरेको त धेरै भैसक्यो । उहिलेका मानिसहरु सदरमुकामबाट नजिकै देखिने दुधकुण्डको काखमा रहेको हिमाल हेरेर खेति गर्ने समयको अनुमान लगाउँथे । हिमालमा हिउँ पर्यो। यसपाली आलु मकै, गौहुँ, जौ लगाएको खेति सप्रने भयो भनेर खुशी हुन्थे । तर अहिलेको परिवर्तनशील समयले हिमाल हेरेर खेती उत्पादनको लखकाट्ने मानिस कमै भेटिन्छन्।

कार्तिक लागे पछि डाउन ज्याकेट जस्ता बाक्ला कपडा लाउनु पर्ने सोलुखुम्बुमा अब बाक्लो ज्याकेट सम्झने मात्र हो। सामान्य हावा छेक्ने ज्याकेटले दिन कट्न थालेको छ। मंसिरको अन्तिमबाट मागको पहिलो सातासम्म लगाउने आलु हिउँ पानीको अभावमा फागुन लागे पछि रोप्न बाध्य भएका छन्। आकाश खुल्ला हुँदा पर्ने तुसारो र शीतको आशमा स्थानिय कृषकले खेती लगाउन थालेका छन्।

जलविद्युत गृहहरु पनि कृषि उत्पादनमा परिरहेको असरको कारक बनेका छन्। एउटै खोलाबाट उत्पादन भएका विभिन्न कम्पनीका जलविद्युतबाट नियमानुसार खोलामा बगाईनु पर्ने १० प्रतिशत पानी नदिँदा खेतबारी सुख्खा बनेका छन्। खोलामा देखिने जलचर प्राणीहरु देखिन छाडेको छ।

उहिले खोला नजिक जाँदा डराउनेहरु आज त्यही खोलाबाट बालुवा गिट्टीको ब्यापारमा रमाई रहेका छन् । स्थानिय प्रशासन खोलामा पानी नै नछाड्ने जलविद्युत कम्पनी होस् या ढुँगा गिट्टी बालुवाको दोहन सक्रिय माफियाहरुमाझ चुपचाप कानमा तेल हालेर बसेका देखिन्छन्।

घर आँगनका जंगलहरु काठ ब्यापारीको निसानामा परिदिँदा हरियो जंगल उराठलाग्दो बनेका छन्। उबेला उत्तिसका काठहरु काम लाग्दैन भन्नेहरुले आज जंगल नै सखाप पारेर तराईतिर ओसारेका छन्।

खच्चड लगायत हेलिकोप्टरले बोकेर लगेका ग्यासका सिलिण्डरहरु पहाड बन्न थालेको छ। थाप्लोमा नाम्लो लगाएर विदेशी पर्यटकको भारी बोकी जीवन यापन गर्ने युवाहरु अब भेटिन छाडेको छ। हिमालमा रम्न आउने पर्यटकहरु कालापत्थर देखेर निरास हुँदै फर्कँदै छन्।

उबेला बनेका हिमतालहरु सुक्दो र पानी घट्दो क्रममा रहेको छ। कुनै बेला हिमताल फुट्ने डरले आत्तिएका स्थानियहरु आज त्यही नदि खोला सुकेको देखेर दिक्क मान्दै भविष्यमा बन्न सक्ने मरुभूमिको कल्पना गर्ने थालेका छन्।

जमिन जोत्न प्रयोग गरिने गोरुको ठाउँमा पेट्रोल र डिजेलबाट चल्ने हलोले खेतबारी सँगै वातावरणलाई असर गरिरहेको पत्तो छैन। एकातिर उत्पादनमा कमी त छँदै छ । उत्पादित बस्तुहरुले भने जस्तो बजार पाउन छाडि सकेको छ।

विभिन्न रासायनिक पदार्थ मिसाईएका खाद्य पदार्थहरुले हिमाल पहाडका बस्तीलाई नछोएको भन्ने छैन। गाउँघरका विषादी रहित खाद्य पदार्थ सस्तो मूल्यमा बाहिरिन थालेको यथार्थ छर्लँग हुँदाहुँदै स्थानिय निकायले कुनै रोक्ने पहल गरेको देखिन्न।
स्थानिय निकाय गाउँगाउँको सिंहदरबार भने पनि उनीहरुलाई न त जलवायु परिर्वतनले असर गरेको छ न विभिन्न रासायनिक पदार्थ मिसाईएका खाद्य वस्तुले। उनीहरु त केवल जित्नका लागि नारा बनाउन मात्र खप्पिस छन् । जितेपछि गाउँलेलाई थर्काएर शासन गर्न अग्रसर छन्।

अग्ला पहाडमा दृष्य देखाउन भनेर लाखौं खर्चेर बनाईका भ्यु टावरहरु रातको सिरेटोसँग टिनका छानाहरु बजाउँदै बसेका छन्। तर यो टिनको छानोले के खोजी रहेको छ नीति निर्मातालाई सोच्ने फुर्सद छैन। हरिया बनहरु नाँगा बनिसके, सेता हिमालहरु काला हुँदै गए तर पनि नेतागणहरु कुनै असहज महसुश गरेका छैनन्। अझै भन्ने गर्छन् यी सबै जलबायु परिर्वतनका असर हुन् भनेर । यदि असरकोबारेमा थाहा भए त न्युनिकरणका लागि उनीहरुको दिमागमा किन बत्ति नबलेको भनेर सर्वसाधारण मानिसहरु प्रश्न गर्न थालेका छन् ।

Logo