पर्यावरण संरक्षण गर्न मेची-महाकाली पैदलयात्रा सुरु

पर्यावरण संरक्षण गर्न मेची-महाकाली पैदलयात्रा सुरु

केन्द्रबिन्दु
56
Shares

झापा: पर्यावरण संरक्षणका निम्ति जागरण ल्याउने उद्देश्यले यहाँका पाँच युवाले आज मेची-महाकाली पैदल यात्रा सुरु गरेका छन् ।

विश्वव्यापी उष्णीकरण, जलवायु परिवर्तनजस्ता विकराल वातावरणीय समस्या समाधानका निम्ति देशव्यापी जनचेतना फैलाउने उद्देश्यका साथ मेचीपुलबाट उनीहरुले यात्रा सुरु गरेका हुन् । यात्रीमा सुवास सुवेदी, हरि न्यौपाने, पदम भण्डारी, दिनेश भण्डारी र उमेशकुमार राई रहेका छन् ।

मेची नदीको पानी बोकेर सुरु गरिएको पैदलयात्रा ६० दिनपछि महाकाली पुगेर यात्रा समापन हुने पैदलयात्री सुवासले जानकारी दिए। उनले यात्राका क्रममा मुख्य राजमार्ग आसपासका ५० बढी सहरमा जनप्रतिनिधि, विभिन्न समुदाय, विद्यार्थी, सामाजिक व्यक्तित्व र राजनीतिक व्यक्तित्वसँग पर्यावरण संरक्षणका बारेमा छलफलसहित सुझाव सङ्कलन गर्ने बताए।

प्रतिव्यक्ति आठ बिरुवा रोपौँ, प्रकृति संरक्षणमा योगदान पु-याऔँ’ भन्ने नारासहित सुरु गरिएको यात्राका क्रममा १२ हजारभन्दा बढी व्यक्तिसँग छलफल गर्ने र हजारभन्दा बढी स्वयंसेवक तयार गर्ने अभियानको मुख्य उद्देश्य रहेको उनले जानकारी दिए । उनले यात्राका क्रममा स्थानीयस्तरमा पर्यावरण संरक्षणका निम्ति भइरहेका प्रयासका बारेमा खोजी गरी वृत्तचित्र निर्माण गर्ने, नवीकरणीय ऊर्जा, फोहरमैला व्यवस्थापन र अन्य पर्यावरणीय समस्या समाधानका बारेमा कार्यशालाको आयोजना गरिने बताउनुभयो ।

यात्राका क्रममा प्राप्त उपलब्धि र दस्तावेजलाई राष्ट्रपति र प्रधानमन्त्रीलाई हस्तान्तरण गरेर पर्यावरण संरक्षणका निम्नि सहयोग गर्ने यात्रु दिनेशले बताए।

Logo