सहकारीको विलयसँगै अस्ताउँदै गरेको मेरो गाउँ !

सहकारीको विलयसँगै अस्ताउँदै गरेको मेरो गाउँ !

केन्द्रबिन्दु
5.6k
Shares

रोशन लुईंटेल

देशमा राजनीतिक अस्थिरता र नेताहरु भ्रष्टाचारमा लिप्त रहेको अवस्थामा विद्युत्, खानेपानी, स्वास्थ्य शिक्षा र रोजगारीको समस्या गाउँघरमा विकराल थियो । दैनिक उपभोग्य सामान जुटाउन धेरै टाढासम्म जानुपर्ने बाध्यता थियो, बाटाघाटा तथा यातायातको सुविधाहरु थिएनन् । जिविकोपार्जनको लागि परम्परागत तरिकाबाट गरिने पशुपालन र खेतीपाती नै मुख्य आयश्रोत थियो । उचित शिक्षा र स्वास्थ्य उपचारको लागि घण्टौं लगाएर सदरमुकाम जानुपर्ने बाध्यता थियो ।

तीन दशकअघि तत्कालीन श्री ५ को सरकार ले ‘गाउँ-गाउँमा सहकारी, घर-घरमा भकारी’ भन्ने नाराका साथ सामूहिकता, सहयोग र आबद्धताको भावना नै सहकारीको मूल उदेश्य हो भन्ने अवधारणा सुरु गरेपछि २५ जनाको समूह मिलेर सहकारी दर्ता गर्ने र सञ्चालनमा ल्याउने क्रम गाउँघरमा ह्वात्तै बढ्यो । उत्तरतर्फ हरियाली चुरे पहाड र दक्षिणतर्फ चार कोशे झाडीको जङ्गल, पूर्वतिर छङ छङ बग्ने चीसाङ्ग खोला तथा गाउँको बीचमा बन्दै गरेको पूर्वपश्‍चिम लोकमार्गको छेउमा अवस्थित मेरो सुन्दर गाउँ तत्कालिन लेटाङ्ग गाविस वडा नं ७ फँडानी मा २०४९ साल कार्तिक ७ गते बेलुका घनश्याम खतिवडाको घरमा ३३ जना भेला भई चन्द्रप्रसाद गौतमको अध्यक्षतामा सामूहिक बचत कोष गठन गरी मासिक २५ रुपैयाँ संकलन गरी नेफसुन्मा दर्ता गरेर सुरु भएको फँडानी बचत तथा ऋण सहकारी संस्थाले सुरुका दिनमा धेरै संघर्ष गर्नुपरेको थियो ।

बचत गर्ने बानीको विकास नभएकोले गर्दा मासिक २५ रुपैयाँ जम्मा गर्न पनि धेरै गाह्रो थियो। झोले अफिस त्यसमा पनि गाउँका मान्छेलाई सहकारीको महत्व र बचत गर्दाको फाइदाको बारेमा जानकारी दिन कहाँ सजिलो थियो र ? हाम्रो घरको एउटा कोठामा मेरो काकाले संस्थाको सचिवको हैसियतले (पारस लुइँटेल) अफिस बनाएर सुरु गर्नुभएको संस्थाले बिस्तारै बामे सर्दै गाउँलेको मन जित्दै गएपछि गाउँका व्यक्तिहरु संस्था प्रति आकर्षित हुन थाले बचतको महत्व बुझ्न थालेपछि हाम्रो समाजमा बचत गर्ने अवधारणाको विकास भयो ।

विलय हुनबाट रोक्न सम्बन्धित निकायबाट समयमै उचित कदम नचाल्ने हो भने गाउँमा बनेका ती अग्ला-अग्ल्ला सहकारीका भवनहरुले हाम्रो गाउँ समाज अस्ताउँदै गरेको हेरिरहने छन् ।

त्यसपछि ९९ रुपैयाँ हुन्जेल गोजीमा १०० रुपैयाँ पुगेपछि बचत गर्नुपर्छ भन्ने मान्यताको विकास भयो। गाउँघरमा सहकारीको महत्व बढ्दै गएपछि स्थानीयहरुको जीवनशैली पनि बद्लिन थाल्याे । विकासले बिस्तारै गति लिँदै गएपछि विकासका पूर्वाधारहरु पनि थपिँदै गए ।

बचत गर्ने बानी तथा सहकारीबाट सानो-सानो कर्जा लिएर परिवारमा आउने साना-तिना समस्या समाधान हुन थाल्याे । परम्परागत तारिकाबाट पशुपालन र खेतीपाती गरेर परिवार चलाएकाहरु व्यापार, व्यवसायसँगै आधुनिक तथा उन्तत तरिकाबाट पशुपालन र खेतीपातीसाथै विदेश गएर कमाउन थालेपछि गाउँमा आम्दानी को श्रोत बढ्न थालो । कसैले स्वास्थ्य, शिक्षाको लागी त कसैले व्यापार गर्न तथा विदेश जान कर्जा लिन थाले । सबैको सुख दुःख को सारथी बन्न थाल्याे । आफ्नै देशमा केही गर्न सक्नेहरु आफ्नै देशमा गर्न थाले । नसक्नेहरु विदेशमा गएर रेमिट्यान्स भित्र्याउन थाले । रेमिट्यान्सले गर्दा गाउँका सहकारीको अवस्था झन् झन मजबुद बन्न थालिरहेको बेला संस्थाको अध्यक्ष चन्द्रप्रसाद गौतम र लेखा संयोजक विष्णु भण्डारीबाट निःशुल्क दुई कठ्ठा जग्गा प्राप्त गरी सानो दुई कोठाको भवन निर्माण गरी त्यसबाट सेवा प्रदान गर्न थालेपछि क्रमशः कारोबार बृद्धि तथा लोकप्रियता बढ्न थालेपछि आसपासका व्यक्तिहरु संस्थाप्रति आकर्षित हुन थाले । त्यही क्रममा राष्ट्रिय सहकारी संस्थाको महासचिव जस्तो गरिमामय पदमा हाम्रो सहकारी संस्थाको संस्थापक सदस्य खतिवडा निर्वाचित भएर जानु भएपछि देशैभरी हाम्रो संस्थाको विकास र प्रबन्धनमा महत्वपूर्ण भूमिका खेल्नुभयाे ।

बिस्तारै हाम्रो संस्थाले चाँडै नै सबैको मन छुँदै देशैभरी नाम कमाउन सफल भयो। हाम्रो सहकारी संस्थाले गरेको प्रगति र संस्थामा आबद्ध भएका सदस्यहरुको जिवनस्तरमा आएको परिवर्तन र समुदायमा पुर्याएको योगदानको नजिकबाट अवलोकन गर्न देशैभर रहेका विभिन्न शहकारी संस्थाबाट अवलोकन भ्रमणको लागि आउनेको भिड नै लाग्ने गरेको थियो।

सहकारीले एक दशकको अवधिमा जनताको जीवनस्तर धेरैमाथि उठाउन सहयोग मात्र गरेन समग्र देशकै आर्थिक अवस्था मजबुद बनाउन कोशेढुंगा साबित भयो । सहकारीको लोकप्रियता बढ्दै गएपछि प्रत्येक वडामा ५/७ वटा सहकारी संस्था खुल्न थाले गाउँमा सहकारी प्रति एक प्रकारको लहरनै सुरु भयो। बिस्तारै गाउँको नक्कल गर्दै सहर बजारको गल्ली गल्लीमा ५०/६० जनाको समूह गठन गर्दै निश्चित स्वार्थको लागि सहकारी संस्थाको स्थापना गर्न थाले, जसको उदेश्य सहकारी मूल्य, सिद्धान्त, सहकारीको मर्म विपरित सीमित व्यक्तिगत स्वार्थसहित सञ्चालन भएको पाउन सकिन्छ । यस्तै कारणले गर्दा पछिल्लोसमय सहकारी संस्थाहरु संकटग्रस्त बन्दै गएपछि समग्र सहकारी अभियानप्रति प्रश्न उठ्न थालेको छ । समग्र सहकारी क्षेत्रको नै विश्वसनीयता गुम्न थालेको छ ।

गरिबी निवारणमा सहकारीको योगदान उल्लेखनीय रहँदै आएको भएता पनि वर्तमान अवस्थामा सहकारी क्षेत्रप्रति विश्वसनीयता गुम्न थालेपछि सहकारी संस्थाहरुबीच एकीकरण गर्ने अभियान नै चलिरहेको छ ।

अहिले पनि समुदायमा आधारित, सुशासनमा संचालन भएका सहकारी संस्थाहरूले आर्थिक, सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदानको साथै विभिन्न पेशा, उद्योग, व्यापार, सेवा, र व्यवसायमार्फत लाखौं व्यक्तिहरुलाई अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेको छ । यसैगरी सामुदायिक सशक्तिकरण तथा गरिबी निवारणमा सहकारीको योगदान उल्लेखनीय रहँदै आएको भएता पनि वर्तमान अवस्थामा सहकारी क्षेत्रप्रति विश्वसनीयता गुम्न थालेपछि सहकारी संस्थाहरुबीच एकीकरण गर्ने अभियान नै चलिरहेको छ । हाम्रो वडामा रहेका पाँच वटा सहकारी एकीकरण भएर एकीकृत जनभावना साकाेसको नामबाट सञ्चालन भई राखेको छ यो त केवल एउटा उाहरण मात्र हो । यस्ता धेरै संख्या देशैभर एकीकरणको अभियान चलेका छन् । के एकीकरण नै समस्याको समाधान हो त ? सरकार तथा सम्बन्धित निकायले बेलैमा यसप्रति उचित कदम नचाल्ने हो भने गाउँघरका सोझा सिधा जनताको अवस्था कस्तो हुने हो ?

आजकाल सहकारी संस्थाका सञ्चालक सहकारीको पैसा लिएर फरार, गाउँका सोझा सिधा जनता लुटिए भन्दै दिनै जसो प्रमुख समाचारका हेडलाइन बन्दै आएका हामीले देख्दै आएको छाैं । अबका दिनहरुमा यस्ता समाचार अझ बढेर जाने देखिन्छ । अब चाँडै नै सहकारी संस्थाहरुको वर्गीकरण गरेर समस्याको समाधान गरिएन भने गाउँमा जनताको जीवनस्तर उकास्न काम गरिराखेका सहकारी संस्थाहरु पनि विलय भएर जाने देखिने छ । हाल आएर मेरो गाउँमा सहकारीको परिचय नै बद्लिन थालेको छ । सबैमा डर त्रास बढेको छ । नयाँ आउने भन्दा छोड्ने जमात बढिराखेको छ । सहकारी संस्थाहरु विलय हुनबाट रोक्न सम्बन्धित निकायबाट समयमै उचित कदम नचाल्ने हो भने गाउँमा बनेका ती अग्ला-अग्ल्ला सहकारीका भवनहरुले हाम्रो गाउँ समाज अस्ताउँदै गरेको हेरिरहने छन् ।

Logo