१३ मंसिर २०७८ सोमबार

२१ करोड राजश्व छलेको आरोपमा मुद्दा

काठमाडौं ।

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजश्व छली गर्ने एक व्यवसायी विरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको छ ।

काठमाडौं महानगरपालिका–७ बस्ने युनिभर्सल ट्रेड एण्ड सप्लायर्स, युनिभर्सल प्रिन्टिङ प्रेस र युनिभर्सल निर्माण सेवाका सञ्चालक प्रकाशराज गिरीले २१ करोड १८ लाख विगो बराबरको राजश्व चुहावट गरेको आरोपमा विहिबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । उक्त मुद्दामा विभागले विगो असूल गरी बिगोको दोब्बर जरिवाना र तीन वर्ष कैद सजायको मागदाबी गरेको छ ।

वस्तु तथा सेवा खरीद नै नगरी झुठ्ठा तथा नक्कली कर विजक मात्र खरीद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजश्व चुहावटको कसूर गरेको अनुसन्धानमा खुलेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

प्रतिवादीले राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको कसूर गरेको आरोप लगाइएको छ । मूल्य अभिवृद्धि करतर्फ ६ करोड र आयकरतर्फ १५ करोड १७ लाख राजश्व चुहावट गरेको विभागको जिकिर छ । रासस

प्रकाशित: २५ पुष २०७६ ०६:५० शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी