नागढुङ्गा–कलङ्की सडकमा सिसिटिभी जडान गरिने

नागढुङ्गा–कलङ्की सडकमा सिसिटिभी जडान गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

उपत्यका भित्रिने प्रमुख नाका नागढुङ्गा– कलङ्की सडकमा सिसिटिभी जडान गरिने भएको छ । समुदाय–प्रहरी पालिका समितिले शुक्रबार आयोजना गरेको ‘ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम’मा उक्त कुरा बताइएको हो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नागढुङ्गा– कलङ्की सडकखण्डमा चाँडै सिसिटिभी र सडकबत्ती जडान गरिने बताए । “चन्द्रागिरिमा हुने अपराध नियन्त्रणका लागि सिसिटिभी र सडक बत्ती जडान गर्न लागेका हौँ”, उनले भने । नगरपालिकाले सिसिटिभी र सडक बत्ती जडानका लागि एक करोड रकम विनियोजन गरेको उनको भनाइ थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक नियम पालना गरे सडक दुर्घटनामा कमी आउने बताए । राजधानी भित्रिने प्रमुख नाकामा सडक दुर्घटना न्यूनीकरण गरे राजधानीमा आफैँ दुर्घटना न्यूनीकरण हुने उनको भनाइ थियो ।

नेपाल ट्रक तथा टिपर व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सरकारले मालवाहक सवारीसाधन पार्किङका लागि आवश्यक स्थान उपलब्ध गराउन नसकेको गुनासो गरे । कार्यक्रममा ट्राफिक दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतनामूलक श्रव्यदृश्य सामग्रीको प्रदर्शन गरिनाका साथै सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तर्क्रिया गरिएको थियो ।
रासस

Logo