निकोला टेस्लाको जीवनीपरक उपन्यास बजारमा

निकोला टेस्लाको जीवनीपरक उपन्यास बजारमा

केन्द्रबिन्दु
70
Shares

काठमाडाैँ। आविष्कारक, भौतिक वैज्ञानिक, मेकानिकल इन्जिनियर र विद्युत् अभियन्ता निकोला टेस्लाको रहस्यमय जीवनमा आधारित उपन्यास ‘निकोला टेस्ला’ वी रिडले प्रकाशनमा ल्याएको छ।

भ्लादिमिर पिस्तालोले लेखेको उपन्यासको नेपाली अनुवाद विमलकुमार सुवेदीले गरेका हुन्। आधुनिक अल्टरनेटिङ करेन्ट (एसी) प्रणालीमा टेस्लाको महत्त्वपूर्ण योगदान छ। उनको जन्म सन् १८५६ मा अस्ट्रियामा भएको थियो। उनका परिवार सर्बियाका नागरिक भए पनि स्मिलजनस्थित उनको गाउँ हाल क्रोएसियामा पर्छ।

उनी सन् १८८४ मा आविष्कारक थोमस अल्वा एडिसनसँग काम गर्न अमेरिका पुगेका थिए । विद्युत् प्रसारणका लागि ‘अल्टरनेटिङ करेन्ट’ (एसी) वा ‘डाइरेक्ट करेन्ट’ (डीसी) कुन प्रणाली स्थापित गर्ने भन्ने विषयमा अमेरिकी इन्जिनियर तथा व्यवसायी जर्ज वेस्टिङहाउस र एडिसनबीच प्रतिस्पर्धा थियो । जबकि एडिसनको कम्पनीले डीसीमा लगानी गरिरहेको थियो।

यो छोटो दुरीमा निश्चित भोल्टेजमा एउटा दिशामा मात्रै प्रवाहित हुने विद्युतीय प्रणाली हो। एडिसनले डीसीलाई नै जोड दिएपछि टेस्ला उनीबाट अलग्गिए । पछि वेस्टिङहाउसले टेस्लाको एसी ट्रान्सफर्मर र मोटरको सर्वाधिकार किने। टेस्लाले आविष्कार गरेको प्रणाली अझै पनि विद्युतीय ऊर्जाको उत्पादन, प्रसारणको क्षेत्रमा अग्रणी विधि मानिन्छ।

टेस्लाको जीवनी आफैँमा रोमाञ्चक उपन्यासजस्तै छ। उनी सर्वसाधारण मानिसले कल्पना गर्नसम्म नसक्ने कुरा सम्भव गराउन सक्थे । उनको शरीर नै मानिसका लागि विचित्रको थियो, जहाँ उनी लाखौँ भोल्टको विद्युत् शक्तिको प्रवाह गराउन सक्थे।

एक कट्टर धार्मिक पुजारीको सन्तान भएर पनि पिताको पन्थमा नगई उनले विज्ञानको अन्वेषण र अनुसन्धानको बाटो रोजे। आमाको निधनले टेस्लाको जीवनमा निकै हलचल मच्चायो। टेस्लालाई सबैभन्दा दुःखान्त पीडा सहोदर दाजु गुमाउनुमा भयो, उनले यो घटनालाई जीवनभर भुल्न सकेनन्।

टेस्लाले कहिल्यै विवाह गरेनन्। उनकाले निधन सन् १९४३ मा न्यूयोर्कस्थित एक होटलको कोठामा भयो। बेलग्रेडमा निकोला टेस्ला संग्रहालय सञ्चालनमा छ, जहाँ अझै बर्सेनि हजारौँ मानिस अवलोकनका लागि पुग्ने गर्छन्।

यो उपन्यास कुनै पनि आविष्कार वा नयाँ काम गर्न खोज्ने जोकोहीलाई उत्साह भर्ने खालको छ। कर्मपथमा अघि बढ्दै जाँदा अनेक चुनौती र हण्डर खाए पनि टेस्ला निरन्तर अघि बढिरहे, यो साहस नै उनको सफलताको कडी हो।

यसका मूल लेखकको पश्चिमी दर्शन, साहित्य र ग्रिक मिथकका प्रसंगहरू उपन्यासमा ल्याएका छन्। त्यसलाई आमपाठकले सजिलै बुझून् भनेर यस्ता प्रासङ्गिक शब्दको छोटो परिचय प्रकोष्ठमा राखेर अझ सरल बनाइएको छ। अनुवादको भाषा सरल र शिष्ट छ। नेपाली पाठकका लागि फरक स्वादको यो जीवनीमा आधारित उपन्यासले आनन्द दिने वी रिडकाे विश्वास छ। ५ सय २७ पृष्ठ रहेको यस पुस्तकको मूल्य १०५० रुपैयाँ राखिएको छ।

Logo