ऐतिहासिक काष्ठमण्डपको पुनर्निर्माण ७० प्रतिशत सम्पन्न

ऐतिहासिक काष्ठमण्डपको पुनर्निर्माण ७० प्रतिशत सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वि.सं. ०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ ।

जनप्रतिनिधि र स्थानीय नागरिकको प्रत्यक्ष सहभागितामा निर्माण भइरहेको काष्ठमण्डपको काम ७० प्रतिशत सम्पन्न भएको हो । कोरोना भाइरसका कारण केही समय काम स्थगित गरिए पनि गत वैशाख दोस्रो साताबाट सुरु भएको काम अहिलेसम्म ७० प्रतिशत सम्पन्न भएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए । पहिलो तलाको सम्पूर्ण काम सकिएको र दोस्रो तलाको काम जारी रहेको उनले बताए ।

काष्ठमण्डप पुनर्निर्माणमा प्राचिनकालमा प्रयोग गरिएको सामग्री र विधि प्रयोग भइरहेको छ । ऐतिहासिक सम्पदाहरुको पुनर्निर्माण गर्दा आधुनिक मेसिनको प्रयोग नभइ स्थानीय जनशक्तिको परम्परागत सीप विधि माटो, ईंटा, काठ र ढुंगाबाट निर्माण भइरहेको उनले बताए ।

काठमाडौं महानगरपालिका, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र काष्ठमण्डप पुनर्निर्माण समिति मार्फत यसको पुनर्निर्माण भइरहेको छ । पुनर्निर्माणको खर्च महानगरपालिकाले व्यहोर्ने समझादारी अनुसार काम भइरहेको छ । अहिलेसम्म महानगरले तीन चरणमा गरी साढे १० करोड रुपैयाँ समितिलाई हस्तान्तरण गरिसकेको उनले बताए ।

कोरोना संक्रमणको जोखिम देशव्यापी रहे पनि आवश्यक सावधानि अपनाएर पुनर्निर्माणको काम जारी रहेको उनले बताए । काष्ठमण्डप पुनर्निर्माणका लागि अहिलेसम्म ७ हजार ९ सय २ क्यूफिट काठ महोत्तरी, मकवानपुर र कञ्चनपुर लगायतका क्षेत्रबाट ल्याइएको छ । अझै ३, ४ हजार क्यूफिट काठको आवश्यकता रहेको उनले बताए ।

६४ वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको काष्ठमण्डपको उचाई साढे २६ मिटर रहेको छ । भग्नावशेषबाट संकलन गरिएका केही काठहरु अहिले पनि प्रयोग गरिएको छ । मुख्य चार खम्बामध्ये एक खम्बा पुरानो नै प्रयोग गरिएको छ । पुरानो काठ रेक्टोग्राफि टेष्ट गरेर मात्रै प्रयोग गर्ने गरिएको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ ।

 

Logo