काँग्रेसले आजदेखि ‘समुदायमा काँग्रेस’ अभियान सञ्चालन गर्ने

काँग्रेसले आजदेखि ‘समुदायमा काँग्रेस’ अभियान सञ्चालन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। नेपाली काँग्रेसले ‘समुदायमा काँग्रेस’ अभियान आजबाट सञ्चालन गर्ने भएको छ।अभियान झन्डै दुई सातासम्म सञ्चालन गर्ने तयारी काँग्रेसको छ । शनिबारदेखि माघ २६ गतेसम्म सो अभियान सञ्चालन हुँदैछ।

काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अभियानका क्रममा समुदायस्तरमा प्रत्यक्ष गई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन गरी आमनागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने जानकारी गराए।

अभियानका लागि काँग्रेसले केन्द्रीय प्रतिनिधिलाई जिल्लास्तरमा खटाएको छ। केन्द्रीय प्रतिनिधिको समन्वयमा पार्टीका जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा सबै (६७४३) वटा वडामा प्रतिनिधि खटाइने तय भइसकेको पौडेलले जानकारी दिए।

अभियान मूलतः वडा केन्द्रित रहने छ। माघ १६ गते सहिद दिवसका दिन विशेष कार्यक्रमसहित अभियानको पहिलो चरण प्रारम्भ हुने काँग्रेसले जनाएको छ। वडा तथा जिल्लास्तरमा खटिएका केन्द्रीय प्रतिनिधिबाहेक पार्टीका केन्द्रदेखि वडा तहसम्म पदाधिकारीका साथै सदस्यहरु परिचालित हुनेछन्।

साथै विभिन्न भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थामा आबद्ध केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिलाई समेत काँग्रेसले अभियानमा एकसाथ परिचालन गर्ने जनाएको छ। आजबाट सुरु हुने अभियानको माघ २६ गते सुशील कोइरालाको स्मृति दिवसका दिन पारेर समापन गर्ने काँग्रेसले तय गरेको छ।

Logo