सेनाको क्षमता अभिवृद्धिमा यान्त्रिक सेवा महानिर्देशनालयकाे भूमिका महत्वपूर्ण -उपप्रधानमन्त्री खड्का

सेनाको क्षमता अभिवृद्धिमा यान्त्रिक सेवा महानिर्देशनालयकाे भूमिका महत्वपूर्ण -उपप्रधानमन्त्री खड्का

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुन्दरीजलस्थित सैनिक सामग्री उत्पादन तथा यान्त्रिक सेवा महानिर्देशनालयले नेपाली सेनाको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

नेपाली सेना बहु व्यवसाय उद्योग-जुत्ता कारखाना, सुन्दरीजल आर्शनल कार्यालय र सुन्दरीजल मिनरल वाटर प्लान्टमा निरीक्षणका क्रममा उपप्रधानमन्त्री खड्काले यस क्षेत्रमा कार्यरत सैनिक तथा गैह्रसैनिक सकल दर्जाको योगदानको प्रशंसा गरेका हुन् । साथै, हाल भइरहेका कामलाई अझ प्रभावकारी ढंगबाट सम्पादन गर्न तल्लीन रहन र नेपाली सेना तथा सम्बन्धित कार्यालय परिवारलाई उत्कृष्ट कार्यसम्पादनका लागि शुभकामना समेत दिए ।

सुन्दरीजल आर्सनल कार्यालय, जुत्ता कारखाना र सुन्दरीजल मिनरल वाटर प्लान्टको स्थापनाले नेपाली सेनाको बन्दोबस्ती क्षमता अभिवृद्धि गर्नुका साथै अत्यावश्यक सैनिक सामग्रीहरु उत्पादनमा आत्मनिर्भरता हासिल गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ थियो ।

“विश्वका कतिपय राष्ट्रका संग्रहालयहरुमा संरक्षित गरी राखिएको वीर गन यस सुन्दरीजल कार्यालयमा उत्पादन भएको तथा विगतमा ०.४५ ईन्च मार्टिन हेनरी एम्युनिशन उत्पादन गरी निर्यात समेत गरेको देखिँदा यस कार्यालयले आफ्नो क्षमता अभिवृद्धि गर्दै हाल नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन स्ट्यान्डर्डका विभिन्न प्रकारका गुणस्तरीय साना हतियार र गोलाबारुदको उत्पादन गर्न सक्ने क्षमता समेत हासिल गरेको जानकारी पाउँदा मलाई ज्यादै खुसी लागेको छ”, उनले भने ।

नेपाली सेनाले हालसम्म प्रयोगमा ल्याइरहेको डिएमएस बुटको साटो अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बुट उत्पादन गर्ने लक्ष्य अनुरुप ओरिजिनल फूटवेयर लिमिटेड लायविलिटी कम्पनी (एलएलसी) अमेरिकी कम्पनीबाट ओरिजिनल स्पेसल विपन्स एण्ड ट्याक्टिस बुटको ट्रेडमार्क तथा प्रविधि लिई गुणस्तरीय बुट उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको जुत्ता कारखानाले ठूलो परिमाणमा उत्पादन सुरु गरिसकेको कुरा प्रशन्नताको विषय भएको उपप्रधानमन्त्री खड्काको भनाइ थियो।

आधुनिक प्रविधिबाट बुट उत्पादन गर्न सक्ने क्षमता हुँदा हुँदै पनि पर्याप्त जनशक्ति, तालिम र बजेटको कमीले प्लाण्टलाई पूर्ण क्षमतामा संचालन गर्न कठिनाई देखिएको भन्दै उनले यी समस्या तथा चुनौतीहरुको निराकरणका लागि नेपाल सरकारको तर्फबाट आवश्यक पहल हुने बताए ।

सो अवसरमा उपप्रधानमन्त्री खड्काले सेना संवेदनशील क्षेत्रमा काम गर्ने जनशक्ति भएको हुँदा आफ्नो व्यक्तिगत सुरक्षालाई ध्यान दिँदै व्यवसायिक तवरले देश, जनता र आफ्नो संगठनको हितलाइ ध्यानमा राखेर काम गर्न पनि सकल दर्जालाई आग्रह गरे ।

Logo