कोशी प्रकरणले कांग्रेस-माओवादीबीच टकराव, अध्यक्ष पद नदिन प्रचण्डलाई दबाब

कोशी प्रकरणले कांग्रेस-माओवादीबीच टकराव, अध्यक्ष पद नदिन प्रचण्डलाई दबाब

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सार्वजनिक रुपमै नेपाली कांग्रेसले आफूहरुको विश्वास गुमाएको अभिव्यक्ति दिए । कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता साझेदर दल नेपाली कांग्रेसबाट धोका भएको बताउँदै गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो ।

गृहजिल्ला रोल्पा पुगेका पुनले यस्ताे टिप्पणी गरेका हुन् ।

बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको थियो। तर सिटौला विजयी हुँदा कार्की भने एमालेकी रुक्मिणी कोइरालासँग पराजित भएकी थिइन् । उक्त घट्नालाई लिएर पुन मात्र होइन सिंगो माओवादी केन्द्रभित्र हलचल ल्याएको छ ।

पुनले दुई वर्षअघि पनि कोशीबाट राष्ट्रियसभामा जसपा उम्मेदवारलाई कांग्रेसले भोट नदिएर बेइमानी गरेको स्मरण गरे । यस्तै शीर्ष नेतृत्व तहमा भएको समझदारीविपरीत एमालेसँगको गठजोडमा केदार कार्कीलाई मुख्यमन्त्री बनाएर पनि कांग्रेसले धोका दिएको पुनको भनाइ थियो ।

पुनको यस्तो अभिव्यक्ति सार्वजनिक हुनु अगावै सत्तारुढ गठबन्धनले संयुक्त रुपमा विज्ञप्ति सार्वजनिक गर्दै मत क्रस गर्नेलाई कारवाहीको चेतावनी नै दिइसकेका छन् । आधिकारिक उमेदवारलाई मत नहाल्ने जनप्रतिनिधिको विषयमा छानबिन गरी अनुशासनको कारबाही गर्ने गठबन्धनले चेतावनी दिएको छ ।

‘गठबन्धनको निर्णयविपरीत मतदान गर्ने गठबन्धन दलका गैरजिम्मेवार तथा निकृष्ट जनप्रतिनिधिहरुको सम्बन्धमा यथाशीघ्र छानबिन गरी अनुशासनको दायरामा ल्याउन हामी प्रतिवद्ध छौं’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

गठबन्धन दल नेपाली कांग्रेस संसदीय दल कोशीका नेता उद्धव थापा, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्र आङ्वो, नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राई र जसपा कोसी प्रदेश संसदीय दलका नेता निर्मला लिम्बूले विज्ञप्ति प्रकाशित गरेका हुन् ।

कोशीमा मत क्रसको विषयले संघीय सरकारको समीकरणमै पनि असर पुर्याएको छ । विशेषगरी माओवादी केन्द्रका नेताहरु बढी रुष्ट छन् । कोशीको प्रकरणलाई सामान्य रुपमा नलिन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । नेताहरुले कोशीका विषयमा कांग्रेसको संस्थागत धारणा मागेका छन् । माओवादी नेताहरुले कांग्रेसको एक समूहले भोट नदिएको आरोप लगाएका छन् ।

जसका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई तुरुन्त भेटवार्ता गरेर आगामी दिनका विषयमा छलफल गर्न नेताहरुले प्रचण्डलाई दबाब बढाएका छन् । कांग्रेससँगको सत्ता यात्राको पनि समीक्षा गर्नुपर्ने अवस्थामा नेताहरु पुगेका छन् ।
कोशी प्रदेश माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले कांग्रेससँगको सत्ता सहयात्रा पुनर्विचार गर्नुपर्ने ठाउँमा पुगेको प्रतिक्रिया दिइसकेका छन् । उनले कांग्रेसको डा.शेखर कोइराला समूहले धोका दिएको बताएका छन् ।

राष्ट्रिय सभा अध्यक्षका रुपमा हेरिएका कृष्णप्रसाद सिटौलालाई कोशी प्रकरणले असर गर्नसक्ने अनुमान शुरु पनि भइसकेको छ । कोशी प्रकरणपछि माओवादी केन्द्रका नेताहरुले अध्यक्ष पद आफैंसँग राख्न दबाब बढाएका छन् । यदी सत्ता हस्तान्तरण गरेको खण्डमा संवैधानिक पदमा माओवादी एकजना पनि नहुने भएपछि राष्ट्रियसभा अध्यक्ष आफैंसँग राख्न अध्यक्ष दाहाल दबाबमा छन् । कांग्रेसको कारण कोशीमा यसअघि माओवादी केन्द्रले सभामुख र मुख्यमन्त्री पद गुमाउनुपरेको हिसाबकिताब गरेको छ ।

किनकी ५९ सीट रहेको राष्ट्रियसभामा अध्यक्षका लागि ३० मत चाहिन्छ । राष्ट्रियसभामा पहिलो बनेको माओवादीको उपाध्यक्षसहित १७, कांग्रेसको १६, एमालेको १०, नेकपा एसको ८, जसपाको ३, लोसपा र जनमोर्चा तथा स्वतन्त्रको एकएक जना छन् । जसमा माओवादी, नेकपा एस, जसपा र जनमोर्चा मिले ३० सांसद संख्या पुग्ने भएकाले माओवादीलाई अध्यक्ष बन्न सहज हुने हिसाब माओवादी नेताहरुको छ । तर माओवादी नेताहरुले गरेको हिसाबकिताब जस्तो समीकरण नै फेरबदल हुनसक्ने अवस्था छैन् । कांग्रेस पहिलो र बलियो शक्ति भएकाले गठबन्धनमा रहेका दलहरुले माओवादीलाई मात्र साथ दिएर अघि बढ्छन भन्ने अनुमान गलत हुनेछ ।

कोशीमा गठबन्धनका तीन सांसदले एमाले उमेदवारलाई मतदान गरेको खुलेको छ । कोशी प्रदेशमा १३७ स्थानीय तहका प्रमुखरउपप्रमुख र ९३ प्रदेशसभा सदस्य मतदाता थिए । आउँदो फागुन २० गतेदेखि २० राष्ट्रियसभा सदस्यको पदावधी सकिँदैछ । राष्ट्रपतिबाट एक जना मनोनित हुनेछन् १९ जना निर्वाचित भइसकेका छन् ।

Logo