माओवादी घटकबीच एकता अपरिहार्य छः प्रधानमन्त्री प्रचण्ड

माओवादी घटकबीच एकता अपरिहार्य छः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन् ।

माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आज सहिद प्रतिष्ठान नेपालको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन अपिल गरेका हुन् ।

“देशभरका माओवादी आन्दोलनका सबै कित्ताका सहकर्मीलाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न अपिल गर्दछु”, विभाजित भएर लक्ष्यमा पुग्न नसिकनेतर्फ सङ्केत गर्दै उनले भने । जनयुद्धका सहिद, बेपत्ता तथा घाइतेलाई राज्यले कुनै न कुनै रूपमा सम्बोधन गरेको उल्लेख गर्दै उनले जनयुद्धका घाइतेको पुनः वर्गीकरण गरिने प्रतिबद्धता व्यक्त गरे ।

“कतिपय अझै घाइतेका रूपमा सूचीकृत हुन छुटेको भन्ने छ, उहाँहरूलाई घाइतेको सूचीमा समावेश गरिन्छ”, उनले भने, “सहिद, बेपत्ता तथा घाइतेका परिवारलाई राज्यले सहयोग गरेको छ, त्यसलाई सिङ्गो पार्टी पङ्क्तिले आत्मबोध गर्नुपर्छ ।”

प्रतिष्ठानका संरक्षकसमेत रहेका अध्यक्ष दाहालले प्रतिष्ठानले सञ्चालन गरेको विद्यालयको पहिचान हुने गरी राज्यले जिम्मामा लिने विश्वास दिलाए । सदनमा पेस भएको विद्यालय शिक्षा विधेयकले पनि त्यस्ता विद्यालयलाई समेट्ने उनको भनाइ थियो ।

Logo