कोशीबाट सत्ता गठबन्धनमा अविश्वासको बीजारोपण भयाे, तर टुट्दैन -राजकिशोर यादव

कोशीबाट सत्ता गठबन्धनमा अविश्वासको बीजारोपण भयाे, तर टुट्दैन -राजकिशोर यादव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशको नतिजाको कारण सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन् ।

राजधानीमा शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उनले केन्द्रीय नेताहरुको तहमा भएको सहमति पालना नहुनु दुःखद् भएको टिप्पणी गरे । उनले भने, ‘अहिलेको गठबन्धन मुलुकमा देखापरेका समस्या समाधान गर्नेगरि निर्माण भएको हो । कोशीको राष्ट्रियसभाको निर्वाचनमा जुन प्रकारको समस्या देखियो, त्यही समस्याको कारण गठबन्धन टुट्छ भन्ने चर्चा छ । यसले गठबन्धनमा खासै असर पार्दैन । तर, यसले एउटा विमर्शको आवश्यकत्ता महसुस गराएको छ । के/कति कारणले त्यहाँ दुर्घटना भयो ? सम्बन्धित दलका नेतृत्वले समयमै समाधान गर्नुपर्छ ।’

गठबन्धनभित्र आपसमा अविश्वास भएको भन्दै यसले वैचारिक र सैद्धान्तिक रूपमा भ्रष्टीकरण ल्याउने उनले बताए । उनले भने, ‘नेतृत्व तहमा एकप्रकारको सहमति भइसकेपछि त्यसलाई इमानदारीपूर्वक कार्यान्वयन गर्नुपथ्र्याे । तर, विचलन देखियो । दीर्घकालीन रुपमा असर गर्छ । त्यहाँबाट अविश्वासको बीजारोपण भएको छ । यसलाई समयमै समाधान गर्नुपर्छ । गठबन्धनको स्वास्थ्यको लागि राम्रो हुँदैन ।’

राष्ट्रियसभाको अध्यक्षका लागि भने गठबन्धनभित्र भएको सहमति पालना हुने उनले विश्वास दिलाए । उनले भने, ‘अहिले राष्टियसभाको अध्यक्ष को हुने भनेर बहस भएको छ । मलाई लाग्छ–गठबन्धनभित्र जे सहमति भएको छ, त्यो इमानदारपूर्वक लागु हुन्छ । हाम्रो दलबाट दाबी छैन । सहमतिले यो महत्वपूर्ण जिम्मेवारी दिने कुरा हो । अब कसले जिम्मेवारी वहन गर्नसक्छ त्यो हेर्नुपर्छ ।’

उनले अहिले गठबन्धनको सरकार हुँदा पनि मुलुक जुन गतिमा अघि बढनुपर्ने हो त्यसरी बढ्न नसकेको स्विकारे । उनले भने, ‘मुलुक अहिले सकारात्मक दिशामा जानुपर्दथ्यो । जति काम हुनुपर्ने थियो, त्यति काम भएको छैन । आज जनतामा निराशा छ, असन्तुष्टि व्याप्त छ । सरकारप्रति ठूलो अविश्वास छ । पार्टी र नेतृत्वप्रति जनमानसमा एकप्रकारको आक्रोश छ । जनताको आक्रोशलाई समयमै सम्बोधन गरिएन भने दुर्घटना हुनसक्छ ।’

यादवले अहिलेको राष्ट्रिय राजनीति संकटको डिलमा रहेको भन्दै त्यसबाट पार लगाउनको लागि सबै जिम्मेवार हुनुपर्ने आवश्यकता औंल्याए ।

Logo