मन्त्रिपरिषद् विस्तारको तयारीमा कोशीका मुख्यमन्त्री कार्की

मन्त्रिपरिषद् विस्तारको तयारीमा कोशीका मुख्यमन्त्री कार्की

केन्द्रबिन्दु
0
Shares

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकार विस्तारको तयारी गरेका छन्। उनले जिम्मेवारी सम्हालेको सय दिन बितिसक्दा पनि मन्त्रिपरिषद विस्तारमा ढिलाइ गरेको भन्दै आलोचना भइरहेको छ।

मन्त्रिपरिषद विस्तार गर्ने विषयमा मुख्यमन्त्री कार्कीले आज विभिन्न दलका नेताहरुसँग छलफल गर्ने भएका छन्। छलफलमा सहमति जुटाएर सोमबारसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने तयारी भइरहेको जनाइएको छ। तत्कालका लागि तीनजना मन्त्री र एकजना राज्यमन्त्री नियुक्ति गर्ने तयारी कार्कीको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार नेपाली काँग्रेसबाट प्रदिपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री तथा इन्दिरा थापालाई राज्यमन्त्री बनाउने मुख्यमन्त्रीको तयारी छ।

माओवादी केन्द्रबाट कतिजना मन्त्री बन्ने भन्ने यकिन छैन। एकजना मन्त्री बन्ने अवस्था आए उदयपुरका नारायण बुर्जा मगरले अवसर पाउने सम्भावना छ। माओवादीको भागमा दुई जना पर्ने अवस्थामा भने संखुवासभाका राजेन्द्र कार्की पनि मन्त्री नियुक्त हुन सक्ने सम्भावना छ सरकारमा माओवादीले थप दुईजना मन्त्री दाबी गर्दै आएको छ।

कोशी प्रदेश सरकारमा हाल काँग्रेसबाट मुख्यमन्त्री कार्कीसहित आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राई, माओवादीबाट पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबेगू भौतिक पूर्वाधार विकास मन्त्री छन्। काँग्रेसका विद्रोही ८ सांसद र एमालेका ३९ सांसदको सहयोगमा कार्की असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

Logo