बोल्दाबोल्दै हल खाली भएपछि देउवाले भने- कहिलेकाहीँ आफ्ना कुरा भित्तालाई पनि सुनाउनुपर्छ

बोल्दाबोल्दै हल खाली भएपछि देउवाले भने- कहिलेकाहीँ आफ्ना कुरा भित्तालाई पनि सुनाउनुपर्छ

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना कुरा कहिलेकाहीँ भित्तालाई पनि सुनाउनुपर्ने भन्दै व्यङ्ग्य गरेका छन् ।

शुक्रबार नेपाली काँग्रेस काठमाडौँ जिल्ला सम्मेलनको उद्घाटन समाराेहमा उनले लामो भाषण गर्नेहरूप्रति इङ्गित गर्दै बोल्दाबोल्दै हल खाली हुने गरेकाले पूरा भनाई भित्तालाई पनि सुनाउनुपर्ने भन्दै व्यङ्ग्य गरेका हुन् ।

सभापति देउवाले भने,‘मान्छे बाँकी कोही छैन, के बोल्नु । अहिले कस्तो अवस्था भइसक्यो भने मान्छे बोल्दाबोल्दा हल खाली भइसकेको हुन्छ । कुरा पूरा सुनाउनै पर्यो, पूरा कुरा कहिलेकाहीं भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ । केही छैन ।’

उनले उद्घोषकलाई मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने आशय व्यक्त गरे । ‘एक जना बसेको हुन्छ । अनि धन्यवाद है तपाई त लास्टसम्म बस्नुभयो भन्छन् । तपाईँको भाषण सुन्न होइन माइकका लागि लिन आएको हो । माइक मैले दिएको हो भन्ने बेला छ ।’ उनले भने ।

संघीय राजधानी रहेको काठमाडौंको सम्मेलन सबैका लागि महत्वपूर्ण भएको भन्दै यसले देशैभर राम्रो प्रभाव पार्नुपर्ने बताए । उनले भने, ‘काठमाडौं जिल्ला मात्रै नभएर देशको राजधानी पनि हो । त्यसैले यो सम्मेलन भनेको महत्वपूर्ण सम्मेलन हो । त्यसकारण राजधानीको सम्मेलनले राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा महत्व राख्छ । भोलिका दिनमा राम्रा प्रस्तावहरु पास गर्नुहुनेछ, राम्रो काम गर्नुहुनेछ । सम्मेलनले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा राम्रो प्रभाव पार्ने किसिमको काम गर्नुहुन्छ भन्ने मलाई लाग्छ ।’

Logo