कर्णालीको विकास नभएसम्म देशको विकास असम्भव छः जनार्दन शर्मा

कर्णालीको विकास नभएसम्म देशको विकास असम्भव छः जनार्दन शर्मा

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वमन्त्री जनार्दन शर्माले कर्णालीको विकास नभएसम्म देशको विकास नहुने बताएका छन्। उनले कर्णाली एक सम्भता भएको बताएका हुन्।

सोमबार कर्णाली उत्सवको समापन गर्दै उपमहासचिव शर्माले नेपाली भाषाको जननी कर्णाली भएको भन्दै भाषा, साहित्य र राजनीतिमा कर्णालीलाई माथि उठाउनका लागि महत्वपूर्ण योगदान गरिरहेको बताए। ‘कर्णालीमा बगेको प्रत्येक पानीको थोपा, कर्णालीका हरेक वनस्पतिका पात, जडा र बोक्राहरुलाई, यहाँका नदी ताल, हिमाल, पहाड, खोँच, वेशी र भ्यालीहरुलाई जब हामी एउटा मूल्यमा बदल्छौं तब कर्णाली स्वाभीमानी र समृद्ध भएर देखिनेछ,’ उनले भने।

उनले कर्णालीको परिभाषा नै फेर्ने गरी काम गर्नुपर्ने बेला आएको बताए। ‘कर्णालीको विकास बिना देशको विकास सम्भव छैन,’ शर्माले अघि भने, ‘कर्णालीका दलितहरुको मुक्ति नभएसम्म कर्णालीको विकास हुँदैन। कर्णालीमा दलितहरुको बाहुल्यता छ। उनीहरुले सबैभन्दा बढी उत्पीडन भोगिरहेका छन्। यसको अन्त्य गरेर जात प्रथाबाट मुक्ति गरेपछि मात्र विकासको प्रारम्भ हुन्छ।’

कर्णालीलाई सुनको डल्लोको रुपमा बुझेको बताउँदै उपमहासचिव शर्माले सुनको यो डल्लोलाई आवश्यक स्तरका गहनामा बदल्न र त्यसले सजाउनको लागि सक्षम कालिगढहरुको खाँचो रहेको बताए। कर्णाली उत्सव सोमबार सकिएको छ। उत्सवका संयोजक कमल लम्सालले विगतका चार वर्षझैं यो वर्ष पनि बुलबुलेमा बसेर कुरा गरेको बताए।

लोकतान्त्रिक ढंगले कुरामानी गर्नुले लोकतन्त्रलाई मजबुद बनाउने उनको भनाइ थियो। कुरै गर्न नपाउने समाजमा कुरा हुनुनै ठूलो भएको उनले बताए। उत्सवमा पहिलो दिन प्रकोप र पुननिर्माणका विषयमा छलफल भयो। दोस्रो दिन समाज, साहित्य र विकासका विषयमा छलफल केन्द्रित भयो। तेस्रो दिन लोकतन्त्र र सुशासनका विषयमा छलफल भयो। कर्णालीको बारेमा गन्थन, मन्थन र चिन्तन यो उत्सवमा हुने गरेका छन्।

Logo