सुरु भयो प्रचण्डको अर्को उथलपुथल यात्रा

सुरु भयो प्रचण्डको अर्को उथलपुथल यात्रा

केन्द्रबिन्दु
294
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको यही कार्यकालभित्रै तेस्रो पटक विश्वासको मत पाएका छन् । निर्वाचनपछि सबैभन्दा पहिले एमालेसँग त्यसपछि लगत्तै नेपाली कांग्रेससँग र हालै फेरि एमालेसँग सत्ता गठबन्धन गरेका दाहालले छोटो अवधिमा तीनपटक विश्वासको मत लिएर नयाँ रेकर्ड बनाएका छन् ।

विश्वासको मत याचना गर्दै प्रधानमन्त्री प्रचण्डले सत्ताको मुख्य घटक नेपाली कांग्रेसको महासमितिमा राजनीति, धर्म र भावी निर्वाचन सन्दर्भमा भएका छलफललाई गठबन्धन परिवर्तन गर्नुपर्नाको मुख्य कारण बताउँदै आफूलाई निर्दोष देखाउने प्रयास गरे । निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्ने नेपाली कांग्रेसको निर्णयबाट बढि नै विचलित देखिएका दाहालले कांग्रेसलाई आफूले नै संसदको पहिलो दल बनाउन योगदान गरेको दावी पनि गर्न छाडेनन् । यो दावी गर्दै उनले आगामी निर्वाचनमा बहुमत ल्याउन नेपाली कांग्रेसलाई व्यंगात्मक शैलीमा चुनौती पनि दिए ।

आज विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले निसंकोच एकअर्काको प्रशंसा गरेका छन् ।

आफूलाई राजनीतिको खलनायक जस्तो देखाउने नेपाली कांग्रेसको प्रयास भन्दै प्रधानमन्त्री दाहालले गठबन्धन परिवर्तन गरेर धोका दिएको भनी आरोप लाउने अधिकार एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मात्र रहेको तर्क पनि गरे ।

नयाँ गठबन्धनका भाष्यकार एमाले अध्यक्ष ओलीले पनि प्रधानमन्त्री प्रचण्डको प्रशंसा गरेका छन् । उनले नेपाली कांग्रेसलाई ‘इमानको कुरा नगर्न’ सुझाव दिएका छन् । विगतका आफ्ना तिक्ततापूर्ण अभिव्यक्तिहरु झुटा देखाउने गरी ओली र प्रचण्डले ‘नयाँ गठबन्धन हामी दुइभाईले सल्लाह गरेर बनाएका हौं’ भनेका छन् । उनीहरुले पार्टी एकता गर्दा ‘हामी पुल काटेर आएका छौं, अब फर्किने ठाउँ छैन’ भनेका थिए । त्यसको छोटो अवधिमै उनीहरु पुरानै अवस्थामा पुग्ने गरी छुट्टिएका थिए । त्यसपछि दुवै नेताहरुले परस्पर हिलो छ्याप्न शब्दकोषमा उपलव्ध सबै चर्का शब्दहरुको उपयोग गरेका थिए । नयाँ गठबन्धनमा सामेल हुनासाथै विगतलाई झुटा सावित गर्ने प्रयास दुवैजनाका तर्फबाट जारी छ ।

विगतका आफ्ना तिक्ततापूर्ण अभिव्यक्तिहरु झुटा देखाउने गरी ओली र प्रचण्डले ‘नयाँ गठबन्धन हामी दुइभाईले सल्लाह गरेर बनाएका हौं’ भनेका छन् ।

आज विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले निसंकोच एकअर्काको प्रशंसा गरेका छन् । यो गठबन्धन बने लगत्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले राजनीतिक धोकाधडी गरेको भनेर चर्को आलोचना गरेका थिए । उनले उदाहरणहरु प्रस्तुत गर्दै ‘धोका पाएकाहरु एक ठाउँ जम्मा भएका दिन तपाईं के गर्नुहुन्छ’ भनेर प्रधानमन्त्री प्रचण्डसँग प्रश्न गरेका थिए। निवर्तमान सरकारका तर्फबाट प्रस्तुत पूर्व बजेटमाथि छलफल चलिरहेकै बेला अकस्मात गठबन्धन भत्किएपछि नयाँ गठबन्धन बनेको हो । बहालवाला प्रधानमन्त्री नै नयाँ गठबन्धनमा पनि सरकारको नेतृत्वमा निरन्तर रहने गरी भएको यो गठबन्धनले वामपन्थी दलहरु र भर्खरै संसदीय राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेटेर सरकार सञ्चालन गर्ने देखिएको छ ।

गएको संसदीय निर्वाचन पछि माओवादी अध्यक्ष प्रचण्ड तिव्र गतिमा छलाङ्ग मार्दै राजनीतिक लाभ हासिल गरिरहेका छन् ।

भावी प्रधानमन्त्रीको उधारो आश्वासन
एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अन्कनाउँदै यो गठबन्धनमा सहभागी भएका छन् । संसदको यही कार्यकालभित्र आफू पनि प्रधानमन्त्री हुन पाउनुपर्ने माग राखेर केहीदिन अडिएका नेपाललाई ओली र प्रचण्डले सँगै राखेर मौखिक आश्वासन दिएपछि उनी राजी भएका हुन् भन्ने कुरा पनि स्पष्ट हुँदै गएको छ । भावी प्रधानमन्त्रीको मौखिक आश्वासन पाएपनि नेपालले त्यसको लिखित प्रत्याभूति भने पाउन सकेका छैनन् । यो उधारो आश्वासन विश्वासको मत पाउञ्जेल मात्रै हो कि पछिसम्म कायमै रहने छ भन्नेमा स्वयं नेपालले विश्वस्त हुने आधार पाईरहेका छैनन् ।

उथलपुथल गर्दै बाजी मार्दै प्रचण्ड
गएको संसदीय निर्वाचन पछि माओवादी अध्यक्ष प्रचण्ड तिव्र गतिमा छलाङ्ग मार्दै राजनीतिक लाभ हासिल गरिरहेका छन् । ‘देश र जनताको हितमा समृध्दिको कार्य गर्न’ गठबन्धन परिवर्तन गर्नुपरेको तर्क दिँदै प्रचण्डले सहयात्री मुख्य दलहरुलाई उच्च महत्वका संवैधानिक पदहरु दिलाउन सहयोग नगरेका पनि होइनन् । पहिलो गठबन्धन गरेर एमालेलाई सभामुख पद पाउन मद्दत गरेका उनले राष्ट्रपति पदमा नेपाली कांग्रेसलाई सहयोग गरेकै हुन् । सभामुखमा एमालेका नेता देवराज घिमिरे र राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल चुन्न प्रचण्डले पुर्याएको योगदानलाई दुवै ठूला पार्टीले बिर्सन मिल्दैन । यसको बदलामा भविष्य अनिश्चित रहेको प्रधानमन्त्री पद र राष्ट्रिय सभाको अध्यक्ष पद प्रचण्डको पार्टीको भागमा परेको छ । यसरी हेर्दा सत्ता परिवर्तनमा गहिरो रुचि भएका जस्ता देखिएका प्रचण्डले शक्तिका सबै केन्द्रहरु आफैंसँग मात्र राखौं भनेर लालच गरेको जस्तो पनि देखिँदैन ।

के प्रचण्डले भनेजस्तै आफ्नो जीवनकालभरी नै उथलपुथल मच्चाईरहनु उनको नियति हो त ?

एउटा प्रश्न भने अवश्य पनि उठ्ने गरेको छ कि माओवादी अध्यक्ष प्रचण्ड किन गठबन्धन फेरिरहन रुचाउँछन् । के प्रचण्डले भनेजस्तै आफ्नो जीवनकालभरी नै उथलपुथल मच्चाईरहनु उनको नियति हो त ?

पार्टीभित्रको विरोध र असमतिको आवाजलाई थिचेर प्रचण्डले आफ्नै बन्धु नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाएरै छाडे । सत्ता गठबन्धनको नयाँ छलाङ्ग मार्दा प्रधानमन्त्री प्रचण्डले यो शर्तमा एमालेसहितका दलहरुलाई सहमत गराएका थिए । राजनीतिको सार्वजनिक जीवनमा प्रकट भैसकेपछि प्रचण्डले केही उल्लेखनीय उथलपुथल त मच्चाईसकेकै हुन् । नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालालाई पहिलो राष्ट्रपति बन्न नदिएर उनले राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाएकै हुन् । यो कुरा उनी स्वयंले सार्वजनिक रुपमै पटक पटक चर्चा गरेका छन् । प्रधानसेनापति हटाउने असफल प्रयासलाई चानचुने उथलपुथल मान्न सकिँदैन । त्यसपछि मित्र राष्ट्रहरु विरुद्ध आएका उनका चर्का अभिव्यक्तिले पनि राजनीतिमा तरंग उत्पन्न गरेकै हुन् । प्रधानसेनापति हटाउन असफल भए लगत्तै जातीय राज्यको घोषणा गर्दै देश दौडाहा गरेर प्रचण्डले राजनीतिमा आफ्नो उपस्थिति प्रभावकारी बनाउने प्रयास गरेकै हुन् ।

यसअघिको सरकारको नेतृत्व गर्दा प्रचण्डले भ्रष्टाचार र अनियमितताका केही उल्लेख्य घटनाहरुको अनुसन्धान गराएर राजनीतिक तरंग उत्पन्न गरेका थिए । तर ती बिषयहरुको छिनोफानो भने हुन बाँकी नै छ । अहिले तेस्रोपटक विश्वासको मत पाएका छन्, प्रधानमन्त्री प्रचण्डले यसलाई कति लामो दूरीको यात्रा गराउन सक्लान्, यो भने भावी दिनहरुमा प्रष्ट हुँदै जाने छ ।

Logo