बहुमत ल्याउने संगठन निर्माणको खाँचो

बहुमत ल्याउने संगठन निर्माणको खाँचो

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धनबिना एकल बहुमत ल्याउन सक्ने संगठन निर्माण गर्नुपर्ने बताएका छन् ।

राजधानीमा शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. २ को क्षेत्रीय सम्मेलनमा उनले देशभरि एकीकृत भएर, एक स्वरमा संगठन निर्माण र जनताको बीचमा जाने हो भने एकल बहुमत ल्याउन सकिने बताए । उनले भने, ‘देशभरि एकीकृत भएर, एक स्वरमा संगठन निर्माण र जनताको बीचमा जाने हो भने कसैसँग गठबन्धन नगरीकनै एकल बहुमत ल्याउन सक्छौं । त्यसका लागि आफ्नो स्थानबाट आफूलाई तयार राखौं भन्ने मलाई लाग्छ ।’

संविधान संशोधनको बहस र निर्वाचन पद्धति परिवर्तन गर्ने विषयमा छलफल सुरु गर्नुपर्ने भन्दै त्यसको पहल कांग्रेसले नै गर्नुपर्ने बताए । उनले भने, ‘संविधान संशोधनको बहस अब हामीले सुरु गर्नुपर्छ । त्यसको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्छ । यो मिश्रित निर्वाचन प्रणालीले कुनै पनि एकल पार्टीलाई बहुमत ल्याउन कठिन भयो, यसको अन्त्य गर्न जरुरी छ । त्यसको लागि समानुपातिकता, समावेशिता सुनिश्चित गर्दै पनि प्रत्यक्ष निर्वाचनमा जान सकिन्छ । त्यस्तो निर्वाचन पद्धतिमा जाने विषयमा अब छलफल सुरु गर्नुपर्छ र त्यसको पहल नेपाली कांग्रेसले गर्नुपर्छ ।’

कांग्रेसले सरकारमा रहँदा जनताको पक्षमा काम गरे पनि त्यसको प्रचार नगरेको उनले उल्लेख गरे । पार्टीले गरेका राम्रा कामको प्रचार जरुरी रहेको उनको भनाइ थियो ।

‘मलाई पूर्ण विश्वास छ, आउने निर्वाचनमा स्थानीय तह, प्रदेश र संघीय संसदमा हामी सम्पूर्ण रुपमा एक्लै विजय प्राप्त गर्ने संगठन बन्ने छ । हाम्रा जनाधार विस्तार हुनेछ, जनता नेपाली कांग्रेसको पक्षमा उभिने छन्,’ उनले भने, ‘सेवा प्रचाररहित हुनुनपर्छ भन्ने कुरामा हामी विश्वास गर्ने थियौं, तर अहिले प्रचारको जमाना आयो । काम नै नगरी, अथवा तिल बराबर काम गरेर पहाड बराबर प्रचार गर्ने । हामी पहाड बराबर काम गरेर पनि तिल बराबर प्रचार नगर्ने पार्टी हौं ।’

आफू अर्थमन्त्री हुँदा जनताको पक्षमा कुराहरु उठाएको कसैलाई पनि चित्त नबुझेको भन्दै अरुका लागि जनताको पक्षभन्दा अर्को पक्षमा उभिन नसक्ने भनाइ पनि उनले राखे ।

Logo