राष्ट्रिय सभाको शून्य समयमा के बोले सांसद्‍हरूले?

राष्ट्रिय सभाको शून्य समयमा के बोले सांसद्‍हरूले?

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरुले समसामायिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबारको बैठकको शून्य समयमा सांसदहरुले भ्रष्टाचारको आरोपीलाई अनुसन्धानको दायरामा ल्याउन, सडक निर्माणलाई तीव्रता दिन, वर्षायाममा प्राकृतिक विपत्तिको तयारी र किसानलाई मलको उपलब्धता गराउन माग गरेका छन्।

सांसद जितजङ्ग बस्नेतले भ्रष्टाचारको आरोपितलाई अनुसन्धानको घेरामा ल्याउन आग्रह गरे। सांसद पदमबहादुर परियारले पृथ्वीराजमार्ग पूर्वी खण्डको मुग्लिनबाट पोखरासम्मको सडक निर्माणलाई सावधानीपूर्वक तीव्रता दिन माग गरे। उद्दले सडक निर्माणका क्रममा बस्तीमा पर्न गएको असरप्रति सरकारको ध्यानाकर्षण गराए।

सांसद पूजा चौधरीले वर्षायाममा रौतहटसहित तराइका कतिपय जिल्लाका बस्ती डुबानका कारण जोखिममा रहेकाप्रति ध्यानार्कषण गराए। उनले नेपाल–भारत बैरगनियाको सिमाको ड्यामलाई वर्खायाममा खोल्ने भारतसँगको मौखिक सम्झौतालाई कार्यान्वयन गर्न कूटनीतिक पहल गर्नुपर्ने माग गरे।

सांसद बलदेव बोहराले वर्षात्को समयमा किसानलाई सरकारले प्रयाप्त मल उपलब्ध गराउन माग गरे। सांसद रुक्मणी कोइरालाले लैङ्गिक बजेट ल्याउने र कार्यान्वयन गर्नतर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले एक गाउँ एक उत्पादनको कार्यान्वयका लागिसमेत जोड दिए।

सांसद रेणु चन्दले सुदूरपश्चिममा आङ्गिक क्याम्पसका लागि अभिलम्ब प्रयाप्त बजेट व्यवस्थापन गर्न माग गरे। सांसद विष्णुकुमारी सापकोटाले देशभर डढेलो नियन्त्रणका लागि ध्यानाकर्षण गराए। सांसद विष्णुबहादुर विश्वकर्माले सङ्कटग्रस्त पालिकामा राहतको कार्यक्रम पुर्याउन ध्यानाकर्षण गराए।

संसदको शून्य समयमा सांसद श्रीकृष्णप्रसाद अधिकारीले सुकुम्बासी, सडक निर्माण र सडक व्यापारीको समस्याप्रति सरकारको ध्यानाकर्षण गराए। सांसद मनरुपा शर्माले पर्वत जिल्लाको जलजला गाँउपालिकाका सूर्यबहादुर घर्ती र गमला धर्ती क्षेत्रीको हत्याले जिल्लावासी आक्रन्त बनेको भन्दै उक्त घटनाबारे तत्काल अनुसन्धान प्रक्रिया अघि बढाएर हत्यारा पत्ता लगाउन माग गरे।

Logo