राजनीतिक निकास र आर्थिक विकासका लागि सरकारले काम गर्छः उपप्रधानमन्त्री सिंह

राजनीतिक निकास र आर्थिक विकासका लागि सरकारले काम गर्छः उपप्रधानमन्त्री सिंह

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले समाजमा देखिएको निराशालाई कामबाटै चिर्ने र नागरिकको दैनिकी सहज बनाउने बताएका छन् । शनिबार काठमाडौँ क्षेत्र नं १ मा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले जनताले अनुभूति गर्ने गरी काम गरेर निराशा चिर्ने बताए ।

अहिलेको सरकार विशिष्ट अवस्थामा बनेको बारे सबैलाई जानकारी रहेको भन्दै उनले राजनीतिक निकास र आर्थिक विकासका लागि सरकारले काम गर्ने बताए ।

‘सरकारले अहिले समाजमा देखिएको निराशालाई चिर्ने,काम गरेर देखाउने र डेलिभरेन्स दिने छ,’ उपप्रधानमन्त्री सिंहले भने,‘सरकार गठनअघि देशलाई समृद्धिको मार्गमा लैजाने, निराशा चिर्ने र प्राप्त उपलब्धि रक्षा गरेर जानेगरि भएको सहमतिको जगमा यो सरकार बनेको तपाईहरूलाई थाहै छ ।’

आफ्नै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा उनले क्षेत्रका मतदाताका कारण आफूले अहिले अवसर पाएको भन्दै मतदाताको चाहनाअनुसार विगतमा भन्दा धेरै काम गर्ने पनि बताए । आफूले विगतमा अवसर पाउँदा पनि काम गरेको र अहिले पहिलेभन्दा धेरै काम गर्नुपर्छ भन्नेमा सचेत रहेको बताए ।

अर्को फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले जनमतको उपेक्षा गर्दै केही दलहरूले निराशा र अस्थिरता बढाउने गरी भ्रम छरेकाले त्यसलाई रोक्न बनेको कांग्रेस एमाले सम्मिलित सरकारलाई काम नगर्ने छुट नरहेको बताए ।

सामाजिक सञ्जाल सन्देश प्रवाहको महत्त्वपूर्ण माध्यम भए पनि दुरूपयोग भइरहेको र केही दलले सामाजिक सञ्जाललाई भ्रम छर्ने माध्यम बनाएको भन्दै त्यसमा सचेत रहन पनि उनले आग्रह गरे ।

Logo