जसपा नेपालले तोक्यो केन्द्रीय सदस्यका लागि कार्यादेश

जसपा नेपालले तोक्यो केन्द्रीय सदस्यका लागि कार्यादेश

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । आधारभूत सङ्गठन निर्माणको चार महिने अभियानको उद्घाटन गर्न लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय अभियन्तालाई कार्यादेश तोकेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतबार परिपत्र जारी गरी वैचारिक तथा राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने गरी केन्द्रीय सदस्यहरूको कार्यादेश तय गरेका हुन् ।

जसअनुसार केन्द्रीय अभियन्ताले पार्टीको विधान, पार्टीको एकताको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत राजनीतिक दस्तावेजका सम्बन्धमा प्रशिक्षणको आयोजना गर्नुपर्ने छ । त्यस्तै विभिन्न राजनीतिक दलहरूसँग जसपाको राजनैतिक–वैचारिक भिन्नता, उत्पीडित जाति÷समुदायको पहिचान, राजनीतिक अधिकार, राज्यमा समान प्रतिनिधित्व, सामाजिक विभेद लगायतका विषयहरूको उजागर गर्ने काम समेत अभियन्ताले गर्नेछन् ।

त्यस्तै केन्द्रीय अभियन्ताले कोशी प्रदेशको नाम खारेजी र ऐतिहासिक पहिचानको आधारमा नामाङ्कन गर्नका लागि दबाब सिर्जना गर्न, समुदायमा जागरण ल्याउने र पार्टी विभाजनबारे भण्डाफोर गर्नुपर्ने भनी निर्देशन गरिएको छ ।

पार्टीका चार सय पन्ध्र जना केन्द्रीय अभियन्तालाई पार्टीको आदर्शहरू सङ्घीयता, सुशासन, सामाजिक न्याय र समाजवाद तथा पार्टीको लक्ष्य (समाजवादी लोकतन्त्रको अवधारणा)बारे र समसामयिक राजनीतिक परिस्थिति र पार्टीको दृष्टिकोण प्रष्ट्याउने गरी केन्द्रीय नेताहरूलाई अभियानमा खटाइने भएको छ ।

चुरे वन संरक्षण सम्बन्धमा जनजागरण अभियान सञ्चालनलाई पनि जसपा नेपालले केन्द्रीय सदस्यको अभियानको कार्यादेश भनी निर्धारण गरेको छ । जसपा नेपालको साउन २७ देखि ३० मा सम्पन्न केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यहरूलाई अभियन्ताको रूपमा चार महिना पालिकामा संगठन निर्माणका लागि खटाउने निर्णय गरेको थियो ।

Logo