कांग्रेस झापा-काठमाडौं सम्पर्क समितिद्वारा आयोजित दशैं-तिहारलक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कांग्रेस झापा-काठमाडौं सम्पर्क समितिद्वारा आयोजित दशैं-तिहारलक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेपाली कांग्रेस झापा–काठमाडौ सम्पर्क समितिले बडादशैं, शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वलाई लक्षित गर्दै आयाेजना गरेकाे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार काठमाडौंमा आयाेजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा कांगेसका महामन्त्री विश्वप्रकाश शर्मा उपस्थित थिए । सम्पर्क समिति अध्यक्ष नवीन जोशीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेता तथा राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिट्टौला, साहित्यकार कृष्ण धारावासी, झापा सभापति देउमान थेवेलगायत कांग्रेस नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती थियो ।

कार्यक्रममा महामन्त्री विश्व प्रकाश शर्माले रास्वपालक्षित कटाक्षको ओइरो नै लगाएका थिए । महामन्त्री शर्माले सहकारीको करोडौं रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘क्लिन चिट’को ढोल पिटिरहेको भन्दै आक्रोश पनि पोखेका थिए। यसैगरी शर्माले निर्वाचनमा पपुलर भोट ल्याउने पार्टीले सरकार चलाउनुपर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि गरेका छन् ।

महामन्त्री शर्माले भने, “राजनीतिलाई स्थायित्व प्रदान गर्न स्थीर प्रधानमन्त्रीको खोजी जरुरी छ, आफूले दुई पटकभन्दा बढी प्रम बन्न हुन्न भन्दै आए पनि त्यसमा स्वीकार हुन सकेको छैन । स्थीर प्रधानमन्त्री रहनेगरी संविधान संशोधन गर्न आवश्यक छ ।”

पार्टी कार्यकर्तामा आएको निराशा चिर्न आवश्यक रहेको बताउँदै उनले नेपालमा केही भएको छैन भन्ने नभई, केही भएको छ, केही अझै गर्न बाँकी भनेर बुझाउन जरुरी रहेको धारणा व्यक्त गरे ।

यसैगरी कांग्रेस नेता एवं राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिट्टौलाले सिंगो देशको पावर झापाली एमालेहरुको हातमा रहेको र देश कम्युनिस्ट र माओबादीबाट नबन्ने कांग्रेसबाट मात्र उक्त कार्य सफल हुने जिकिर गरे ।

उनले भने, “इतिहासमा देखिने गरीनै नीतिगत नेतृत्व नेपाली कांग्रेसले गर्दै आएकाले भविष्यमा पनि त्यो सम्भव छ । माक्र्सवाद र लेनीनवादको विचारले नेपालको हितमा काम गर्न सक्दैन । अहिले राजनीतिमा सड्यन्त्रका तानावाना बुनिन थालेको छ ।” झापामा पनि कांग्रेसको मुख्य प्रतिस्पर्धा एमालेसँगै रहेको र आउने चुनावमा एमालेलाई चुनौति दिनेगरी कांग्रेसले योजना बनाउनुपर्ने उनकाे भनाई छ ।

यसका साथै कार्यक्रममा वरिष्ठ साहित्यकार कृष्ण धाराबासीले कांग्रेस पहिले जस्तो नभएको र आफ्नै छोराछोरीहरु पनि कांग्रेस पार्टी भनेपछि मुख बिगार्ने भएकाले समयमै सच्चिन आग्रह गरेका थिए । पार्टी सङ्गठन सुदृढीकरण गर्न र वैचारिकरूपमा अघि बढाउन संस्थापक नेताहरूका विचारलाई अगाल्न आवश्यक रहेको उनकाे भनाई थियाे ।

कांग्रेस झापा सभापति देउमान थेवेले पार्टीका गतिविधिअघि बढाउन क्रियाशील सदस्य नवीकरणमा सहयोग गर्न आग्रह गरे । कांग्रेसको झापा-काठमाडौं सम्पर्क समितिले वर्षैनी यस्ता कार्यक्रमहरु गर्दै आएकाे छ, जसले आत्मियतासँगै पार्टीमा संगठन बलियाे हुने विश्वास राखिएकाे छ ।

Logo