रवि लामिछानेलाई पक्राउ गर्ने तयारीको खबरले रास्वपामा खैलाबैला

रवि लामिछानेलाई पक्राउ गर्ने तयारीको खबरले रास्वपामा खैलाबैला

केन्द्रबिन्दु
616
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा आजै पक्राउ गर्ने तयारीको खबरले पार्टीभित्र खैलाबैला मच्चिएको छ ।

याे खबरलाई बल पुग्नेगरी रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले केन्द्रीय कार्यालयमा भेला हुन कार्यकर्तालाई आग्रह गरेकी छन् । सामाजिक सञ्जालमार्फत उनले भनेकी छन्, ,‘काठमाडौ हुने रास्वपाका मित्रहरु चाँडोभन्दा चाँडो केन्द्रीय कार्यालयमा भेला भैदिनु होला । साथै ७७ जिल्लाबाटै रास्वपा टीम तयारी अवस्थामा बस्नु होला ।’

यसैगरी रास्वपाका प्रदेश समितिहरुले आकस्मिक बैठक डाकेका छन् । बैठकमा प्रदेश समिति, जिल्ला संयोजक, उप संयोजक, पालिका समिति, निर्वाचन क्षेत्र समिति, प्रदेश विभागका सदस्यहरुलाई बोलाइएको छ । सत्ता पक्षले गैरराजनीतिक कदम उठाउन सक्ने सम्भावना रहेकाले आवश्यक तयारीबारे बैठकमा छलफल गर्ने कार्यसूची छ ।

यसअघि दशैंअघि पनि लामिछानेलाई पक्राउ गर्न प्रहरीको टोली परिचालित भएको थियो । त्यसको विरोधमा लामिछानेले पार्टी कार्यालयमा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई भेला पारेपछि सरकार पछि हटेको थियो । त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली पनि देशबाहिर नै रहेका थिए । यो विषय दशैंमा सेलाएको थियो तर, दशैं सकिनासाथ उनी पक्राउ पर्ने हल्ला फेरि सुरु भएको हो ।

सहकारी ठगी प्रकरणमै रविका व्यवसायिक साझेदार एवं गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी भने पक्राउ परिसकेका छन् । उनी यतिवेला कास्की प्रहरीको हिरासतमा छन् । गोर्खा मिडियाबाटै सञ्चालित ग्यालेक्सी फोरकेका तत्कालिन एमडी समेत रहेका लामिछानेलाई संसदीय छानबिन समितिको सिफारिश बमोजिम कारबाही अघि बढाउन अहिले फेरि सरकारमाथि दबाब बढेको छ ।

Logo