प्रचण्डको चाहना- ‘सरकार गठन भन्दा पहिला पार्टी एकता’

प्रचण्डको चाहना- ‘सरकार गठन भन्दा पहिला पार्टी एकता’

केन्द्रबिन्दु
0
Shares

चितवन  । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनभन्दा पहिला पार्टी एकता टुङ्ग्याउने क्रममा आफूहरु रहेको बताएका छन् । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार त गठन हुन्छ नै पार्टी एकता त्यो भन्दा अगाडिनै होस् भन्ने आफ्नो चाहना छ भने । 

उनले भने–“मेरो कोशिस भन्नुहुन्छ भने त सरकार गठन भन्दा अघिनै पार्टी एकता हुनु जनभावनाअनुसार पनि हुन्छ । हामीले गरेको प्रतिबद्धता अनुसार पनि हुन्छ ।” आज भोलि नै एउटा निष्कर्षमा पुग्ने तयारीमा रहेको पनि उनले बताए । उनले फागुनको दोस्रो हप्ताभित्र सरकार गठन हुने बताए । 

देशको राजनीतिक स्थायित्व हुन र विकासलाई गति दिनका लागि पनि कम्युनिष्टको एउटा बलियो केन्द्र आवश्यक रहेको अध्यक्ष प्रचण्डले विचार व्यक्त गरे । अहिलेको काम चलाउ सरकारले गम्भीर प्रकृतिका निर्णय गर्ने गल्ती गरेको उनले भने । उनले अहिलेको निर्णयबाट नेपाली काँग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्न चिन्ह खडा भएको धारणा राखे । 

दाहालले भने–“यसले नेपाली काँग्रेसलाई दीर्घकालीन असर गर्छ भन्ने कुरा साँचो हो ।” सरकारको यो निर्णयप्रति एमाले र माओवादीको मत एउटै रहेको उनले बताए । 
माडीको बाँदरमुढे घटनामा मृत्यु भएकालाई शहीद घोषणा गरिएको विषयमा टिप्पणी गर्दै उहाँले जस्को नेतृत्वमा सरकार भयो त्यसले आफूखुसी शहीद घोषणा गर्ने प्रक्रिया राम्रो नभएको बताए । 

अध्यक्ष दाहालले भने त्यसको एउटा मापदण्ड बनाएर त्यो भित्र रहेर मात्रै शहीद घोषणा गर्नु राम्रो हुन्छ ।” यद्यपि उनले  शहीद घोषणा गरेकोमा आफ्नो कुनै आपत्ति भने नभएको बताए । रासस

Logo