ओलीलाई विश्वासको मत नदिँदा नै अहिलेलाई पर्याप्त हुन्छ भन्ने निष्कर्ष भयो : भीम रावल

ओलीलाई विश्वासको मत नदिँदा नै अहिलेलाई पर्याप्त हुन्छ भन्ने निष्कर्ष भयो : भीम रावल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका निलम्वित नेता माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालपक्षीय नेता डा.भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने बेला अनुपस्थित भएर मत नदिँदा नै पर्याप्त हुने निष्कर्ष बैठकले निकालेको बताएका छन्।

पार्टी अध्यक्षसमेत रहेका ओलीले संविधानका धाराहरूको अपव्याख्या गरी संसदबाट विश्वासको मत लिन लागेको पनि बैठकको निष्कर्ष रहेको उनले बताए। तर, रावलले सांसद पदबाट राजीनामा दिने निर्णयबाट भने पछि नहटेको बताए।

‘सामूहिक राजीनामाबाट पछाडि फर्केका छैनौं हामी, उहाँ (प्रधानमन्त्री केपी ओली) ले विश्वासको मत माग्नु भएको छ र मत नदिँदा नै अहिलेलाई पर्याप्त हुने निष्कर्षका साथ हामीले अनुपस्थित हुने निर्णय गरेका छौं’, बैठकपछि उनले पत्रकारहरूलाई भने।

ओली जसरी पनि प्रधानमन्त्रीको पदबाट हट्नुपर्ने बताए। ओली बढी स्वेच्छाचारी ढंगले अगाडि बढेको आरोप पनि रावलले लगाए।

उनले अध्यादेश जारी गरेर संवैधानिक परिषद्को बैठक बोलाउँदै स्वेच्छाचारी नियुक्त गर्ने ओलीलाई विश्वासको मत दिँदा लोकतान्त्रिक दृष्टिकोणले लोकतन्त्रलाई कमजोर तुल्याउने, राजनीतिक नैतिकताको दृष्टिकोणले राजनीतिक नैतिकतालाई भ्रष्ट गर्ने, देशको राजनीतिक स्थायीत्व, जनताको राष्ट्रियता र स्वाधिनताको दृष्टिले देशलाई कमजोर तुल्याउने बताए।

Logo