जमिन फिर्ता ल्याउनेबारे भारतसँग गम्भीरताका साथ कुराकानी भइरहेको छः प्रधानमन्त्री

जमिन फिर्ता ल्याउनेबारे भारतसँग गम्भीरताका साथ कुराकानी भइरहेको छः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली पूर्वको जमिन नेपालको जमिन भएकाले सो जमिन फिर्ता ल्याउनेबारे भारतसँग गम्भीरताका साथ कुराकानी भइरहेको बताएका छन्।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तर्राष्ट्रिय मिडियाका संवाददाताहरुसँग अन्तर्क्रिया गर्दै उनले वर्षौंदेखि नेपालको भूमि भारतले प्रयोग गर्दै आएकाले फिर्ता ल्याउनका लागि समय लाग्ने बताएका हुन्। उनले महाकाली नदी पूर्वको जमिन नेपालको भएको र सो जमिनलाई राजनीतिक र प्रशासनिक नक्सामा सामेल गरि संविधानको अनुसुचीमा पनि राखिसकेको उल्लेख गर्दे ती भूभाग फिर्ता ल्याउनका लागि भारतसँग वार्ता भइरहेको बताए।

उनले भने,“महाकालीभन्दा पूर्वको र त्यस ठाउँमा महाकाली भन्दा उत्तर पूर्वको भनौं। महाकाली पूर्वको जमिन नेपालको जमिन हो।र हामीले हाम्रो जमिन हाम्रो राजनीतिक तथा प्रशासनिक नक्सामा सामेल गरेर पास गरेका छौं र त्यसलाई संविधानको अनुसुचीमा पनि सामेल गरेका छौं। यस सम्बन्धमा हामी भारतसँग गम्भीरताका साथ कुराकानी गरिरहेका छौं । तर यथार्थ के हो भने विगत ५८ वर्षदेखि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतको नियन्त्रणमा रहेको छ। र हामीले संवादको माध्यमबाट त्यस क्षेत्रलाई फिर्ता ल्याउनुछ। जबसम्म भारतको निणन्त्रणमा छ र फिर्ता आएको छैन तबसम्म फिर्ता आएको स्तरमा व्यवहार भएको हुनसक्ने कुरा भएन। मैले भने ५८ वर्षदेखि त्यो भारतकै नियन्त्रणमा छ। हामीले भारतको नियन्त्रणबाट फिर्ता ल्याउने प्रयास गरिरहेका छौं। त्यसमा संवाद गरिरहेका छौं।

छिमेकीसँग केही कुरामा मतभेद वा गलत बुझाई हुन सक्ने भन्दै उनले सबै समस्याको समाधान वार्तामार्फत गरिने भन्दै भारतसँग नेपालको मित्रतापूर्ण सम्बन्ध भएकोमा आश्वश्त तुल्याए। उनले कतिपयले आफूलाई भारतसँगको सम्बन्ध बिगारेको र कतिपयले भारतको इसारामा काम गरिरहेको भन्ने आरोप लगाउने गरेको भन्दै उनले आपसमा विवादास्पद यी दुवै आरोपहरु कसरी सत्य हुन सक्छन् भनी प्रश्न गरे।

Logo