दोस्रो पुस्ताका साथीहरु आउनुस्, म अध्यक्ष छोड्न तयार छुः माधव नेपाल (भिडियाे)

दोस्रो पुस्ताका साथीहरु आउनुस्, म अध्यक्ष छोड्न तयार छुः माधव नेपाल (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरुलाई पार्टीमा आउन आह्वान गरेका छन्। 

अध्यक्ष नेपालले पार्टी विभाजनपछि आफूहरुलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरु पार्टीमा आए नेतृत्व छोडन तयार रहेको घोषणासमेत गरे। आफ्नो पार्टी निकट पेशागत महासंघ, नेपाल बागमती प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले पदका लागि कहिल्यै पनि लडाई नगरेको पटकपटक दोहोर्याए। 

अध्यक्ष नेपालले भने, ‘आउनुहोस् दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु । आउनुहोस्– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस् । म अध्यक्ष पदबाट त अहिल्यै भनि हाल्छु, अनि केही वर्षपछि राजनीतिबाटै विदा भइहाल्छु, भएन ? पदको लडाई होइन, यो । विचारको लडाई हो, यो । सिद्धान्तको लडाई हो यो । मूल्य र मान्यताको लडाई हो यो ।’

अध्यक्ष नेपालले केपी ओली प्रतिगामी कदम सच्याउन तयार नभएपछि नयाँ पार्टी पुनर्गठन गर्नु परेको तर्कसमेत गरे। उनले आफूविरुद्ध ओलीले कुप्रचार गरेको भन्दै आक्रोश समेत व्यक्त गरे। आफूविरुद्ध कुप्रचार भइरहेको भन्दै अध्यक्ष नेपालले त्यस्ता झुट प्रचारको भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। 

अध्यक्ष नेपालले समाजवादको बाटो तय गर्दै देश र जनताको हितमा केन्द्रित भई काम गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको पनि बताए। सो अभियानमा पदलोलुप नभई काम गर्न उनले पार्टीका नेता, कार्यकर्तालाई पनि निर्देशन दिए।

Logo