ओलीद्वारा सभामुख, निर्वाचन आयोग र एकीकृत समाजवादीविरूद्ध रिट दायर (भिडियोसहित)

ओलीद्वारा सभामुख, निर्वाचन आयोग र एकीकृत समाजवादीविरूद्ध रिट दायर (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले प्रत्येक दिन टप फाइभ समाचार भिडियो सामग्रीसहित अपडेट गर्ने गरेका छौं। प्रस्तुत छ, आजको टप फाइभ समाचार।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, नेकपा (एकीकृत समाजवादी)लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनको पेसी शुक्रबारका लागि तोकिएको छ। एमालेले कारबाही सिफारिस गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुख सापकोटा, ती सांसदसहितको सनाखतबाट एमाले विभाजन गरेको भन्दै निर्वाचन आयोग र नेकपा (एस)लाई विपक्षी बनाएर ओलीले वारेसमार्फत बुधबार रिट दायर गरेका छन्।

निर्वाचन आयोगले भदौ २२ सम्ममा एमाले छाड्ने समय दिएपछि प्रदेश सांसदहरुले नवगठित नेकपा एस रोज्ने क्रम मंगलबारदेखि सुरु भएको छ । दल रोज्न बाँकी ५ दिन रहेपनि सातै प्रदेशमा एमाले विभाजनको बाछिटा पुगिसकेको देखिएको छ भने, जनप्रतिनिधिहरूले पनि आफ्नो कित्ता प्रष्ट गरेको देखिएको छ। जसमा, प्रदेश दुईमा माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादी बलियो देखिँदा बाँकी ६ वटा प्रदेशमा नेकपा एमाले नै बलियो देखिएको छ। 

कोरोना महामारीका कारण महिला उद्यमीहरुको ५ औँ अन्तर्राष्ट्रिय व्यापार मेला भर्चुअल  माध्यमबाट शुरु भएको छ । विगत चार वर्षदेखि भौतिक उपस्थितिमा प्रदर्शनी गर्दै आएको भएपनि यसवर्ष कोरोना संक्रमणको महामारीका कारण भर्चुअल माध्यमबाट गर्नुपरेको महिला उद्यमी महासंघले जनाएको छ। हस्तकला, कृषि र खाद्य, व्यापार, सेवा चार किसिमका वस्तुहरुको प्रदर्शनी हुने यस मेलाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्। 

ललितपुरस्थित जाउलाखेलमा रहेको चिडियाखाना आर्थिक अभावका कारण सञ्चालनमा समस्या भएको छ। चिडियाखानाकी सूचना अधिकृत लिना चालिसेका अनुसार महामारीका कारण मानिसहरु घुम्न ननिस्किनाले आर्थिक आम्दानी कम हुँदा चिडियाखानाका जनावरहरुलाई खाद्यान्नको व्यवस्थापन गर्न धौ धौ परेको छ। सञ्चालनको मुख्य आय टिकट बिक्रीबाट हुने गरेकोमा यो श्रोत नै बन्द भएपछि चिडियाखाना समस्यामा परेको हो। 

साफ तयारीमा रहेको नेपाली फुटबल टोलीले भोली पाहुना टोली भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ । दशरथ रंगशालामा मध्यान्न ५ः३० बजे हुने खेलमा दुबै टोली सुखद लक्ष्यका लागि प्रतिस्पर्धामाउत्रने तयारीमा छन्। कोरोना महामारीको सन्त्रासमा आयोजना हुन लागेको खेलमा सीमित दर्शकले मैत्रिपूर्ण खेल हेर्ने मौका पनि पाउने भएका छन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख १९ हजार ३३६ पुगेको छ। नेपालमा आज २ हजार ५२ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ४०४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ रहेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ६४ हजार २९५ जना र एन्टीजेन परीक्षणबाट ८३ हजार ९०९ जना पुगेको छ। आज २० जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ७७० पुगेको छ। आज १४ हजार ९३५ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३९ लाख २५ हजार ७५८ जनाको पिसिआर र ४ लाख ७३ हजार २६८ जनाको एन्टीजेन परीक्षण गरिएको छ। काठमाडौं उपत्यकामा आज ७१९ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित भेटिएका छन्।

Logo