संविधानको सफल कार्यान्वयनबाट समृद्धि र स्थायी खुसी ल्याउने सरकारको लक्ष्यः प्रम देउवा

संविधानको सफल कार्यान्वयनबाट समृद्धि र स्थायी खुसी ल्याउने सरकारको लक्ष्यः प्रम देउवा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सफल कार्यान्वयनबाट मुलुकको समृद्धि र नागरिकको मुहारमा स्थायी खुसी ल्याउने सरकारको लक्ष्य रहेको बताएका छन् ।

सातौँ संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले नेपालको संविधानले अमर शहीदहरुको सपना, नागरिकको आकांक्षा र हाम्रो भविष्यलाई एकाकार गरेको समेत बताएका छन्।

देउवाले भने, “नागरिक स्वतन्त्रता र मुलुकको समृद्धिको लागि दशकौँदेखि भएका जनआन्दोलन, सशस्त्र विद्रोह, मधेश आन्दोलनसमेतको माध्यमबाट भएको यो अभूतपूर्व राजनीतिक परिवर्तन सम्भव भएको हो। सङ्घीय, लोकतान्त्रिक गणतन्त्र, समावेशीता, मानव अधिकार एवं वैयक्तिक स्वतन्त्रताजस्ता उपलब्धिलाई संस्थागत गर्न जननिर्वाचित प्रतिनिधिबाट गठित संविधानसभाबाट निर्माण भएको छ।”

उनले मुलुकको अग्रगामी परिवर्तनका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवर्तनका लागि भएका सङ्घर्षमा शारीरिक, भौतिक, आर्थिक, मनोवैज्ञानिक क्षति बेहोरेका एवं बेपत्ता नागरिकलाई उच्च सम्मानपूर्वक स्मरण गरे।

साथै उनले सात दशक लामो राजनीतिक आन्दोलनका क्रममा परिवर्तनका लागि अग्रपङ्क्तिमा रही नेतृत्व गर्ने अग्रजहरु तथा समस्त परिवर्तनका पक्षधर नेपाली नागरिकप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

उनले भने “विधिको शासनको अपरिहार्य कडी संवैधानिक सर्वोच्चता र त्यसलाई संस्थागत गर्ने संविधान हो । त्यसैले संविधान दिवस एक विशिष्ट राष्ट्रिय खुसीको दिन हो । यस अवसरमा पनि हामी खुला मनले अधिक सहभागिताबाट राष्ट्रिय उत्सव मनाउन सकेका छैनौँ । किनकी कोभिड–१९ को महामारीबाट हामी सबै जोगिँदै यस्ता उत्सव मनाउनुपर्ने बाध्यता रहेको छ ।”

Logo