वाग्मतीका मन्त्री सुवेदीले माला र उपहार नलिने, पदमा रहँदाको तलब सार्वजनिक गर्ने

वाग्मतीका मन्त्री सुवेदीले माला र उपहार नलिने, पदमा रहँदाको तलब सार्वजनिक गर्ने

केन्द्रबिन्दु
0
Shares

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले पहिलो पटक आफ्नै आचारसंहिता जारी गरेका छन् । वाग्मती प्रदेश सरकारबाट जारी गरिएको मन्त्री तथा पदाधिकारीहरूको आचारसंहिता, २०७८ को अधीनमा रहेर उक्त आचारसंहिता लागू गरिएको हो। 

वाग्मती प्रदेश सरकार सामाजिक विकासमन्त्रीको आचार संहिता, २०७८ मा मन्त्री सुवेदीले ३ असोजमा हस्ताक्षर गरी लागू गरेका हुन्। मन्त्रीको कार्यसम्पादनलाई नैतिकता, सदाचार, मीतव्ययी र आचरणयुक्त तुल्याई प्रदेश सरकार र जनताप्रतिको जवाफदेहितामा अभिवृद्धि ल्याउन उनले आचारसंहिता जारी गरेका हुन्। 

मन्त्रीको कार्यसम्पादनलाई व्यवस्थित, योजनाबद्ध, पारदर्शी र प्रभावकारी तुल्याउन पनि आचारसंहिता लागू गरिएको मन्त्री सुवेदीले बताए। आचारसंहितामा मन्त्रीले पालना गर्नुपर्ने १५ वटा बुँदा समेटिएको छ। आचारसंहिताको अनुगमन तथा मूल्यांकन र आवश्यक सुझावका लागि आमसर्वसाधरणलाई अनुरोधसमेत गरिएको छ। आचारसंहिता उल्लंघन भएको पाइएमा सकारात्मक सुझावसहितको जानकारी गराउन उनले आग्रह गरेका छन्।

आमन्त्रित गरिएका कुनै पनि कार्यक्रममा सहभागी हुँदा तोकिएको सयममा पुग्ने कुराको सुनिश्चितता गर्ने, आयोजकबाट फूलको गुच्छाबाहेक अन्य खादा, माला तथा उपहार आदि ग्रहण नगर्ने मन्त्री सुवेदीले प्रतिबद्धता जनाएका छन्। त्यसैगरी कार्यक्रममा सम्बोधन गर्दा तोकिएको समयभित्र निर्धारित विषय वस्तुहरूमा मात्र बोल्ने, कुनै पनि व्यक्ति वा संस्थाबाट व्यक्तिगत तथा पारिवारका सदस्यको प्रयोजनका लागि प्रदान गरिएका कुनै पनि उपहार ग्रहण नगर्ने र मन्त्रीको हैसियतमा नियमअनुसार प्राप्त हुने सुविधाबाहेक अन्य कुनै प्रकारका सेवा सुविधा नलिने आचारसंहितामा उल्लेख गरिएको छ। 

व्यक्तिगत प्रयोजनका लागि सरकारी सवारी साधनको प्रयोग नगर्ने, तोकिएको भन्दा बढी सुरक्षाकर्मी नलिने र सुरक्षाकर्मीलाई निजी काममा परिचालन नगर्ने मन्त्री सुवेदीले जारी गरेको आचारसंहितामा उल्लेख गरिएको छ।

त्यस्तै, मन्त्री पदबाट हट्दाको दिन मन्त्रालयबाट आफूले प्राप्त तथा प्रयोग गरेका सम्पूर्ण भौतिक सुविधाहरू फिर्ता गर्ने र मन्त्री रहेको अवधिमा बुझेको पारिश्रमिकको विवरणसमेत सार्वजनिक गर्ने कुरा आचारसंहितामा समेटिएको छ।न्युज कारखाना

Logo