मिल्ने भए प्रचण्ड-माधवले क्याबिनेट भ्यागुताले जस्तो फुलाउँथे: ओली

मिल्ने भए प्रचण्ड-माधवले क्याबिनेट भ्यागुताले जस्तो फुलाउँथे: ओली

केन्द्रबिन्दु
0
Shares

एमालेका अध्यक्ष केपी ओलीले ७२ दिनसम्म मन्त्रिपरिषद् विस्तार नहुँदा देशको महत्वपूर्ण समय खेर गएको टिप्पणी गरेका छन् ।

श्वेतशार्दूल पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्ता गठबन्धनमा संविधानले तोकेको २५ जनाको सीमाभित्र अटाउन समस्या भएको टिप्पणी गरे ।

'शेरबहादुरजीले नेतृत्व गर्नुभएको सरकारमा रंगीविरंगी मान्छे छन्,' प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै ओलीले भने, 'उहाँहरू अझै मन्त्रिपरिषद् संख्या बढाउन प्रयास गर्दैछन् । पहिलाजस्तो ६५/६७ बनाउन सक्दैनन् । मिल्ने भए त  भ्यागुता फुलाए भन्दा फुलाउदै जानुहुन्थ्यो । अहिले संविधानले दिँदैन । अहिले २५ मा अटाउन उहाँलाई समस्या भइरहेको छ । त्यहीँ कारण हो अहिलेको तमासा ।'

सवा वर्ष कार्यकाल रहेको सरकारले पद र भागबन्डामै २० प्रतिशत समय खेर फालेको उनको भनाइ थियो । 'कार्यकाल सवा वर्ष छ । २० प्रतिशत भाग यसै गयो । खाली पदको चिन्ता । देशको समय बर्बाद भयो,' उनले भने ।

ओलीले आफूले अघि सारेका रणनीति सडकसमेत १४ सय सडक बजेटमा रोकेर सरकारले अशुभ संकेत देखाएको टिप्पणी गरे । ओली फुर्ति झार्छु भनेर एकैचोटि रोकिदिएको उनको गुनासो थियो ।

'अलिकति दिउँसै ग्रहण लाग्यो भने ग्रहणतिर नहेर भन्छन् । अहिले देशमा ग्रहण लागेको छ । धेरै हेर्ने होइन । अशुभ छ । रणनीति सडकसमेत १४ सय सडक रोक्नु छ । बजेट आयोजना सबै खतम छ । क्या बात,' उनले भने, 'झ्याप्प दाहिने खुट्टाले ब्रेक ठोक्यो । ल बना बाटो, ओली फुर्ति झार्छु भनेर एकैचोटि शेरबहादुरजीले नेतृत्व गर्नुभएको सरकारले रोकिदियो ।'

सरकारले यता लाग्ने कि नलाग्ने भनेर कर्मचारीलाई धमक्याउने र दु:ख दिने काम गरिरहेको ओलीको आरोप थियो ।  'म त पेसाकर्मी हुँ । कुनैमा लाग्न मिल्दैन भन्दा भोलिपल्ट देखाइदिने, पठाइदिने । न त्यहाँ न डेरा पाइन्छ । न सवारीसाधन,' उनले भने, 'कर्मचारीलाई अपायकमा सारिदिने, काखमा बच्चा भएको महिलालाई बच्चा थाम्नै नसक्ने गरी दुर्गममा सारिदिएको छ । वा लोकतन्त्र ।' न्युज कारखाना

Logo