मन्त्रिपरिषद् बैठकः ओलीले नियुक्त गरेका राजदूत फिर्ता बोलाइने

मन्त्रिपरिषद् बैठकः ओलीले नियुक्त गरेका राजदूत फिर्ता बोलाइने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाएको मन्त्रिपरिषद् बैठकमा विभिन्न महत्वपूर्ण निर्णय भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा भएका राजदूतहरूको नियुक्ति फिर्ता गर्ने निर्णय गरिएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद्को उक्त निर्णयसँगै अब अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालगायत अन्य देशहरूमा नियुक्त भएका राजदूतहरूसमेतको पद धरापमा परेको छ । 

बैठकमा अन्य नियमित एजेन्डामाथि छलफल भइरहेको बैठकमा सहभागी एक मन्त्रीले जनकारी दिए । उक्त मन्त्रीका अनुसार बैठकमा नियमित एजेन्डासहित मन्त्रीमण्डल विस्तारको विषयमा समेत छलफल गर्ने तयारी गरिएको छ । 

सर्वोच्च अदालतको संवैधानिक इजलासको परमादेशबाट गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले कार्यभार सम्हालेको दुई महिनाभन्दा बढी भइसक्दा समेत मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । 

हाल देउवाको मन्त्रिमण्डलमा प्रधानमन्त्री देउवा र एक राज्यमन्त्रीसहित ६ जना मन्त्रीहरू रहेका छन् । बाँकी रहेका मन्त्रालयको जिम्मेवारी देउवा आफैले सम्हाल्दै आएका छन् ।
 

Logo