को को हुन् सरकारले फिर्ता बोलाएका राजदूतहरू ?

को को हुन् सरकारले फिर्ता बोलाएका राजदूतहरू ?

केन्द्रबिन्दु
0
Shares

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को निर्णयपछि चीन, भारत र संयुक्त राज्य अमेरिकालगायतका देशमा कार्यरत सबै नेपाली राजदूत फिर्ता हुने भएका हुन् । 

आजबाट पद रिक्त भएका राजदूतहरूमा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा, चीनका लागि महेन्द्रबहादुर पाण्डे, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलगायत रहेका छन् ।

त्यसैगरी बंगलादेश– बंशिधर मिश्र, इजरायल– अञ्जान शाक्य, जापान– प्रतिभा राणा, मलेसिया– उदयराज पाण्डे, ओमान– शर्मिला पराजुली ढकाल, कतार– नारदनाथ भारद्वाज, दक्षिण अफ्रिका– निर्मलकुमार विश्वकर्मा, स्पेन– दाबा फुटी शेर्पा, बेलायत– लोकदर्शन रेग्मी समेत फिर्ता हुने भएका हुन् । परराष्ट्र सेवाबाट गएका राजदूत भने फिर्ता हुने छैनन् । 

राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूत फिर्ता बोलाइएको र ती देशमा छिट्टै नयाँ राजदूत नियुक्त गर्ने सरकारको तयारी रहेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए  । 

अन्य निर्णय

यस्तै, सरकारले  संयुक्त राष्ट्र सङ्घको ७६ औँ महासभामा भाग लिन जाने नेपाली प्रतिनिधिमण्डलको गठन गरिएको सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले जानकारी दिएका छन् ।

आजको बैठकले कर्णाली कोरिडोरको सल्लीसल्ला सिमीकोट खण्डको दुल्लीकुनादेखि लालीबगर खण्डको  सात किमी र लैफुबद्रीगाउँदेखि हुक्काखोला खोलासम्मको १३.५ किलोमिटर  सडकको ट्रयाक नेपाली सेनाबाट निर्माण गर्न स्वीकृति दिइएको छ ।

यसै गरी सरकारले कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृत प्रदान गरिएको छ । कोभिड–१९ व्यवस्थापन आदेश २०७८ समेत बैठकले स्वीकृत गरेको छ ।
 

Logo