डा. नारायण खड्काः योजना आयोगका पूर्व उपाध्यक्षदेखि परराष्ट्र मन्त्रीसम्म

डा. नारायण खड्काः योजना आयोगका पूर्व उपाध्यक्षदेखि परराष्ट्र मन्त्रीसम्म

केन्द्रबिन्दु
0
Shares

परराष्ट्र मन्त्रीमा सत्ता गठबन्धनको जसपाका अध्यक्ष उपेन्द्र यादवको दावी थियो । त्यस्तै, पौडेल पक्षबाट सुजाता कोइराला र मिनेन्द्र रिजालको पनि परराष्ट्र मन्त्रीमै दाबी रहँदै आएको थियो । तर सबैलाई पन्छाएर अन्ततः डा. नारायण खड्काले परराष्ट्र मन्त्रीमा बाजी मारेका छन् ।

को हुन् डा. नारायण खड्का ?

भारतबाट अर्थशास्त्रमा विधावारिधि (पीएचडी) गरेका डा. नारायण खड्काको जन्म ७ चैत्र २००५ मा भोजपुरमा भएको हो । 

बुवा स्वर्गीय चित्रबहादुर खड्का र आमा धर्मकुमारी खड्काको कोखबाट जन्मिएका खड्का २०२३ सालबाट नेपाली  कांग्रेसको राजनीतिमा होमिएका थिए ।

विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्राको सुरुवात गरेका खड्का विभिन्न आन्दोलनका क्रममा विराटनगर र काठमाडौंबाट पटक पटक पक्राउ परी जेल जीवनसमेत विताइसकेका छन् । 

यससँगै नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईका विश्वास पात्रका रूपमा  लामो समय काम गरेका खड्काले भट्टराई प्रधानमन्त्री हुँदा उनको प्रमुख राजनैतिक सल्लाहकारसमेत भएका थिए । 

त्यसो त खड्का राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् भने उनी सुशील कोइरालाको पालामा सहरी विकास मन्त्रीसमेत भएका थिए । 

२०५६ सालमा भएको संसद्को निर्वाचनमा पराजित भएका खड्का ०६४ सालको संविधानसभाको निर्वाचनमा उदयपुरको क्षेत्र न १ बाट विजयी भएका थिए  । उक्त निर्वाचनमा माओवादी केन्द्रका नेता राजन किराँतीलाई पराजित गर्दै आफ्नो पहिलो संसदीय यात्रा तय गरेका थिए । त्यसपछि भने खड्काले पछाडि फर्किएर हेर्नुपरेको छैन । 

पहिलो संविधान सभाको निर्वाचनले मुलुकलाई संविधान दिन असफल भएपश्चात्  २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा खड्का पुन उदयपुर क्षेत्र न १ बाटै संविधान सभामा निर्वाचित भएका थिए । 

आफ्नो नेतृत्व र कुशल कार्यशैलीबाट जनताका माझ आफूलाई स्थापित गर्न सफल भएका खड्काले २०७४ को प्रतिनिधिसभामा निर्वाचनमा  समेत सफलता हात पारे । उदयपुरको क्षेत्र न १ बाट वाम गठबन्धनकी उम्मेदवार मञ्जु चौधरीलाई ५४८ मतान्तरमा पराजित गर्दै प्रतिनिधिसभामा आफ्नो स्थान सुनिश्चित गरेका थिए ।
 

Logo