राप्रपाको लोकप्रियता वृद्धिका लागि राजनीतिक संस्कार सुधार गर्नुपर्नेमा जोड

राप्रपाको लोकप्रियता वृद्धिका लागि राजनीतिक संस्कार सुधार गर्नुपर्नेमा जोड

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को लोकप्रियता वृद्धि गर्न राजनीतिक संस्कार भएका प्रतिनिधिलाई पार्टीभित्रको जिम्मेवारीमा ल्याउनु पर्छ भन्ने कार्यकर्ताहरूको जोड छ।

गलत सोँच र आचरण भएका पात्रले पार्टीको गरिमा र लोकप्रियतालाई नकारात्मक असर पार्ने भएकाले अधिवेशनको क्रममा सजग भएर सही प्रतिनिधि चयन गर्नु पर्दछ भन्ने पार्टी कार्यकर्ताको भनाइ थियो।

कुम्मायक गाउँपालिकाको विहीबार सम्पन्न अधिवेशनमा भाग लिँदै स्थानीय कार्यकर्ताहरूले राजनीतिक संस्कार र प्रजातान्त्रिक अभ्यास एक अर्काका पूरक भएको बताए। स्वेच्छाचारी पात्र र प्रवृत्तिबाट पार्टी तहसनहस हुन्छ भन्ने चिन्ता प्रकट गरे। पार्टी एकढिक्का रहनु पर्दछ भन्ने मत जाहेर गरे।

‘प्रजातान्त्रिक विकल्प बन्ने लक्ष्य लिएको राप्रपाले आन्तरिक प्रजातन्त्र अक्षुण्ण राख्नु पर्दछ । प्रजातान्त्रिक अभ्यास, राजनीतिक आचरण र पार्टी सदस्यहरूको मनोवृत्ति यस मानेमा महत्वपूर्ण हुन्छ,’ केन्द्रीय कार्य सम्पादन सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष सगुन सुन्दर लावतीले भने ।

यासोक बजारमा सम्पन्न अधिवेशनलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य मानदेव केरुङले भने, ‘स्वर्गीय नेता पद्मसुन्दर लावतीको योगदानको बलमा पाँचथरमा राप्रपा अडेको छ । दुःखको कुरा ऐतिहासिक सत्यलाई बिर्सेर, उहाँको योगदानलाई नबुझे जस्तो गरेर, एकथरी राप्रपाको छवी धमिलो पार्न उद्धत छन्। आम पार्टीपंक्ति यसैले चनाखो रहनु परेको छ।’

राप्रपा पाँचथरका सह–अध्यक्ष राजकुमार जोशीले भने, ‘जनताको बलमा राप्रपाले राजनीतिक उचाई लिनेछ। वर्तमान परिवेशले यही संभावनालाई इंगित गरेको छ।’

अधिवेशनले जगत जंग लावतीको अध्यक्षतामा कुम्मायक गाउँपालिका समिति सर्वसम्मत निर्वाचित गर्यो। कार्यक्रममा जिल्ला सदस्य पवित्र श्रेष्ठ र महिला संगठनका केन्द्रीय सदस्य कल्पना थेबेको पनि उपस्थिती थियो।

Logo