कांग्रेस महाधिवेशनमा देखिएका ४ दृष्य (भिडियाेसहित)

कांग्रेस महाधिवेशनमा देखिएका ४ दृष्य (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत निर्वाचनको प्रक्रिया सुरु भइसकेको छ । नेताहरु आफ्नो पद र शक्ति आर्जनका लागि नयाँ–नयाँ समिकरण निर्माण गर्न लागि परेका छन्। सात दशक लामो राजनीतिक इतिहास बोकेको सानेपाको सत्तामा पुग्न नेताहरुले गरिरहेको प्रयासलाई केहीहदसम्म जायज नै मान्न सकिएला तर यसपटक कांग्रेसमा केही फरक दृष्यहरु देखिएका छन्। 
 

दृष्य १: रामचन्द्र पौडेलको राजनीतिक भविष्य के ?

राजनीतिक रुपमा सभापति शेरवहादुर देउवाका समकक्षी पौडेलका लागि यो महाधिवेशन निकै संकटको विषय बनेर आएको छ । आफ्ना समूहका नेताहरु खासगरी शेखर कोइराला र प्रकाशमान सिंहले पौडेललाई नछोड्ने अडान कायमै राखेपछि पौडेल आफैंले आफ्नो समूहको बैठकमा नै राजनीतिबाटै बिदा हुने भन्दै गुनासो राखेका थिए। पौडेलले भावुक अभिव्यक्ति दिएपनि कोइराला र सिंहले उनको कुरालाई कुनै महत्व दिएनन्। नेपाली कांग्रेसमा पौडेललाई सानो मुटु भएको नेता भन्छन् तर यसपटक पौडेलकै समूहका नेताहरुले उनका लागि झन सानो मुटु गरे । यससँगै उनको राजनीतिक भविष्यमाथी नै प्रश्न उठ्न थालेको छ । गत संसदीय निर्वाचनमा समेत पराजित पौडेल पार्टीमा राजनीतिक रुपमा निकै कमजोर देखिएका छन्। आफ्नै टिमका नेताहरुबाट धोका भयो । यद्यपी पौडेल आझैपनि पूर्णरुपमा कमजोर भइसकेका छैनन् तर निराश भने छन्। 
 

दृष्य २: कृष्णप्रसाद सिटौलाको बढ्याईं

कांग्रेस राजनीतिमा गिरिजाप्रसाद कोइरालाको छत्रछाँया पाएका सिटौलाले गत महाधिवेशनमा टिमभित्र विद्रोह गरे। पौडेललाई चुनाव हराउन र देउवालाई कांग्रेस सभापति बन्न सिटौलाको त्यो कदम सबैभन्दा निर्णायक बन्यो । यो महाधिवेशनको मुखमा सिटौला टिमका सबैभन्दा चर्चितपात्र गगन थापाले उनलाई छोडे पनि सिटौलाले आफ्नो शक्ति नघटेको दावी गरिहेका छन्। उनी अहिले प्रदीप पौडेललाई अघि सारिरहेका छन्। 

सिटौलाको दाउ अहिले देउवा बनाउने भन्दा आफ्ना राजनीतिक प्रतिष्पधिलाई रोक्न फेरि देउवासँग देखिएका छन्। उनी थप शक्ति आर्जन गरेर १५ औं महाधिवेशनकोतयारीमा लागेको प्रष्ट देखिन्छ । सिटौला यस महाधिवेशनमा गगन थापा र विश्वप्रकाश शर्मालाई रोक्न पनि पुरै शक्ति लगाइरहेका छन्। 

दृष्य ३: युवा पुस्ता नेतृत्वमा कि फोटो खिच्न मात्र?

यो महाधिवेशनमा एउटा प्रश्न अहम रुपमा उठेको छ । कांग्रेसको नयाँ पुस्ताको स्थान कहाँ हुन्छ भनेर । धेरै नेताहरुले पदाधिकारीमै इच्छा देखिएका छन् तर उनीहरुको इच्छालाई मतदाताले के गर्लान्? मुल प्रश्न यहि छ । कांग्रेसमा युवानेताहरुको भाषण सुन्ने र फोटो खिचाउनेहरुको लामो लाइन छ तर के फोटो खिचेकाहरुले भोट पनि हाल्छन्? या भोट अरुलाई, फोटो युवापुस्तासँग हुन्छ त्यो भन्न सकिँदैन । कांग्रेसमा गुटको राजनीतिमा युवाहरु हस्तक्षेपकारी भन्दा विन्तिकारी भएका कारणपनि उनीहरुको उपस्थितिबारे अहिले नै भन्न सकिन्न तर युवापुस्तामा आकर्षण भने देखिएको छ । 
 

दृष्य ४: उही मस्त मौलाना पारा 

कांग्रेसलाई उसका विपक्षीहरुले लगाउने ठूलो आरोप कांग्रेसमा बैचारिक बहश हुँदैन । कांग्रेसमा नेतृत्वको दौड मात्र हुन्छ भनेर, यो केहि हदसम्म सत्य हो । तर यसको अर्कोपाटो पनि छ । कांग्रेस उदार लोकतन्त्रको पक्षधर भएका कारणपनि उसको महाधिवेशनमा कम्युनिष्ट पार्टीमा जस्तो बैचारिक बहशका नाममा मुड्की उचाल्ने काम कम हुन्छ । तर कांग्रेस महाधिवेशन जारी रहँदा महाधिवेशन प्रतिनिधिहरु बन्दसत्रमा सामान्य छलफलमा पनि सहभागि छैनन् । बरु काठमाडौंका रेष्टुराहरुमा भरिभराउ देखिएका छन्। एकता, उत्सव र रुपान्तरणको नारा दिएको यो महाधिवेशनका कांग्रेस प्रतिनिधिहरुको पारा उत्सवमा मात्र बढी जोड दिएको देखिन्छ। 

Logo