कांग्रेसको महामन्त्रीमा निर्वाचित गगन र विश्वप्रकाशकाे राजनीतिक यात्रा (भिडियाेसहित)

कांग्रेसको महामन्त्रीमा निर्वाचित गगन र विश्वप्रकाशकाे राजनीतिक यात्रा (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको महामन्त्रीमा गगन कुमार थापा निर्वाचित भएका छन्। १३औं महाधिवेशनमा कृष्ण सिटौलाको टिमबाट महामन्त्रीमा असफल गगन १४औं महाधिवेशनमा शेखर कोइरालाको टिमबाट भारी मतले विजयी भएका हुन्।

थापाको संक्षिप्त जीवनी :

युवा नेता गगन थापाको जन्म विसं. २०३३ साल साउन ४ मा सोलुखुम्बुमा भएको हो। बुवा महेन्द्रकुमार थापा र आमा रामेश्वरी थापाका छोरा थापाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनका दुई छोरी छन् । 

२०४६ सालको जनआन्दोलनदेखि विद्यार्थीकालमै राजनीति सुरु गरेका थापा नेपाल विद्यार्थी संघमा आबद्ध हुँदै २०५१ सालमा नेविसंघ त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्य निर्वाचित भए । २०५३ मा स्ववियु सचिव र २०५५ मा स्ववियु सभापति बने । २०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष बने । 

२०५९-२०६१ सम्म नेपाल विद्यार्थी संघको महामन्त्री भए । जनआन्दोलन २०६२-०६३ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनविरुद्धको आन्दोलनमा आक्रामक भाषण गरेर चर्चामा आएका थापा १२औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए। १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको टिमबाट महामन्त्रीको उम्मेदवार बनेर तेस्रो स्थान हासिल गरे पनि सम्मानजनक मत प्राप्त गरेका थापालाई महाधिवेशन सकिएलगत्तै केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो ।

उनी २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक र २०७० सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट संविधानसभामा विजयी भए । २०७३ छोटो कार्यकालका लागि स्वास्थ्यमन्त्री भएका थापाले स्वास्थ्य क्षेत्रमा सुधारका थुप्रै प्रयास गरेका थिए। २०७१ मा उनी संसदको कृषि तथा जलस्रोत समितिको सभापति भएर काम गरेका थिए। दुईपटक राजद्रोहको मुद्दा खेपेका थापा पटक पटक जेल परेका छन् । संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थापा २०७४ सालको चुनावमा काठमाडाैं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए ।

संविधान कार्यान्वयन, जनजीविकाका सवालमा संसदमा निरन्तर आवाज उठाउने र सत्तालाई जहिल्यै घच्घच्याउने काम उनले गर्दै आएका छन् ।

विश्वप्रकाश शर्मा 

नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । यसअघि पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता रहेका शर्मा १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका हुन् । 

शर्माको संक्षिप्त जीवनी :

युवा नेता विश्वप्रकाश शर्माको जन्म विसं. २०२७ पुस ६ मा झापाको शान्तिनगरमा भएको हो । बुवा परशुराम भण्डारी र आमा सावित्रा भण्डारीका छोरा शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनका एक छोरा र एक छोरी छन्।

२०३७ सालमा झापामा विद्यालय पढ्दादेखि नै राजनीतिमा लागेका शर्मा नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको महामन्त्री र अध्यक्ष भइसकेका छन् । सिर्जनशील युवा नेता शर्मा राजनीतिक विश्लेषक एवं साहित्यकारका रुपमा पनि परिचित छन्।

१३औं महाधिवेशनबाट केन्द्रीय सदस्यका साथै पार्टीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका शर्मा १४औ महाधिवेशनमा पार्टीको कार्यकारी पद महामन्त्रीमा निर्वाचित भएका हुन्।

अघिल्लो आम चुनावमा झापा क्षेत्र नम्बर १ बाट राम कार्कीसँग पराजित भएका थिए। संसदीय प्रतिस्पर्धामा पराजित शर्मा पार्टी प्रतिस्पर्धामा भने सफल भएका छन्।

युवा प्रतिनिधिको लोकप्रिय मत उनले पाएका छन् । 'बदलिएको कांग्रेस, बलियो कांग्रेस'को नारा उनले दिएका थिए ।

पार्टी प्रवक्ता बनाए पनि कृष्ण सिटौलासँगको सहकार्यले शेरबहादुर देउवाले टिकट नदिँदा शर्मा प्रकाशमान सिंह टिमबाट प्रतिस्पर्धामा होमिएका थिए। 

 

Logo