मेलम्चीको सम्पूर्ण काम ठप्प

काठमाडौं,

सरकारले आफूहरूको मागलाई बेवास्ता गरेको भन्दै सीएमसीपीडित संघर्ष समितिले मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम ठप्प पारेको छ । यसअघि विभिन्न माग राखेर आन्दोलन गरे पनि सरकारले बेवास्ता गरेको भन्दै सीएमसीपीडित संघर्ष समितिले बुधबारदेखि आयोजनाको काम ठप्प पारी आन्दोलन थालेको हो ।

आयोजनाको जिम्मा पाएको इटालियन कम्पनी सीएमसीले काम छोडेर भागेपछि उसको करारमा रहेको लोकल भेन्डर, सब–कन्ट्राक्टर, स्थानीय मजदुरले भुक्तानी पाउनुपर्ने मुख्य माग समितिले राखेको छ ।

समितिले दुई महिना अघि पनि आयोजनाको काममा अवरोध गरी आन्दोलन गरेको थियो । पछि सरकारले निर्णय गरेर उक्त समस्याको समाधान गर्ने आश्वासन पाएपछि समितिले आन्दोलनलाई स्थगित गरेको थियो ।

दुई महिनासम्म पनि मागको केही अंश पनि पूरा नगरेकाले आन्दोलनमा उत्रिनु परेको समितिका संयोजक उत्तरकुमार श्रेष्ठले बताउनुभयो। ‘हामी हाम्रो मागप्रति कठोर छौं । काम गरेको भुक्तानी पाउनुपर्ने मुख्य माग हो। हामीले दोस्रोपटक आज (बुधबार) बाट फेरि आन्दोलन थाल्यौं’, उहाँले भन्नुभयो– ‘यो वार कि पारको आन्दोलन हो।’

समितिले अम्बाथान र हेडबक्समा भइरहेको काम ठप्प पारेको उहाँले दाबी गर्नुभयो । मेलम्चीमा रहेको आयोजनाको कार्यालयमा समितिले जिल्लाका सांसदहरूलाई राखेर कोणसभासमेत गरेको थियो । सीएमसीले राखेको बैंक ग्यारेन्टीको रकमबाट भुक्तानी गर्न माग राखे पनि सरकारले बेवास्ता गरेको उहाँहरूको माग हो ।
नेपाल समाचारपत्रबाट