स्कुटर चेक गर्दा १३ लाख नगद र ४१ लाखको चेक बरामद

काठमाडौको त्रिपुरेश्वर चोकबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ का २२ वर्षीय उमेश कुमार मगरलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो । प्रदेश नम्बर ३–०२–००५ प ६१५२ नम्बरको स्कुटरमा सवार मगरसँग शंकास्पद अवस्थामा १३ लाख ९ हजार ७ सय ५ रुपैयाँ फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनको साथबाट विभिन्न बैंक तथा वित्तिस संस्थाका गरी ४१ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको चेकहरु समेत बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने भक्तपुर दुवाकोट बस्ने दोलखा मेलुङ गाउँपालिका–२ का २६ वर्षीय गोपाल थापा मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।