भारतीय यौनकर्मीका लागि चर्चित बन्दै पशुपति क्षेत्र, दर्शनार्थी नै ग्राहक

काठमाडौं । कलकत्ताकी रामकली दास (नाम परिवर्तन) केही समयअघि प्रेमीसँगै काठमाडौं आइन् । प्रेमी मुन्टु यादव (नाम परिवर्तन) सँग काठमाडौं आएकी राकमली केही समय राम्रैसँग बसिन् । काठमाडौंको पशुपतिको शक्तिबारे जानकारी पाएकी उनी त्यही शक्ति प्राप्त गर्न र दर्शन गर्न आएकी थिइन् । तर यतिबेला भने माइती नेपालको संरक्षणमा छिन् ।

एकदिन मुण्टु रामकलीलाई छोडेर बेपत्ता भए । उनी एक्लै भइन् । उनीसँग कलकत्तासम्म पुग्ने बाटो खर्च पनि भएन । उनी पशुपतिमा बसेर रोइरहिन् । मन्दिर वरिपरिका मान्छेहरू उनलाई हेर्थे ।

एकदिन बेलुकीपख उनी गौशाला नजिकै बसिरहेकी थिइन् । केही केटीहरू पुरुषसँग कुरा गरेपछि मोटरमा चढेको देखिन् । उनले थाहा पाइन्, यहाँका केटीहरू यसरी पनि पैसा कमाउँदा रहेछन् ।

रामकलीलाई पनि बाँच्नका लागि जसरी हुन्छ पैसाको जोहो गर्नुपर्ने बाध्यता थियो । उनका अगाडि दुई विकल्प थिए– माग्ने वा शरीर सुम्पने । उनले दोस्रो विकल्प रोजिन् ।

एकदिन पशुपतिनजिकै सडकमा बसिरहेका बेला रामकलीलाई एक भारतीयले जाऊँ भन्यो । उनी तयार भइन् । त्यस दिनदेखि रामकली यौन व्यवसायमा संलग्न थिइन् । ‘म बाध्यताले यस्तो काममा लागेकी हुँ, पैसा सकिएपछि धेरै ठाउँमा गएर काम मागेँ तर काम पाइन’, उनी भन्छिन्, ‘यो काममा लागेपछि पैसा आयो, केही पैसा जम्मासमेत गरेकी छु ।’

गत सोमबार महानगरीय प्रहरी वृत्त गौशाला र माइती नेपालको संयुक्त टोलीले रामकलीसहित ६ जना यौनकर्मीलाई पशुपति क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । उनीहरूले पशुपति क्षेत्रलाई आफ्नो यौन व्यापारको केन्द्र बनाउँदै आएका थिए । खासगरी भारतीय पर्यटकलाई लक्षित गरेर यस क्षेत्रमा यौन व्यापार गर्ने ठूलो गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ । धार्मिक क्षेत्रमा यस्तो धन्दा हुन नदिन स्थानीय प्रहरी र सामाजिक संस्थाको संयुक्त प्रयासमा निगरानी थालिएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

पशुपति क्षेत्रमा भारतका चर्चित रेडलाइट एरियासँग तुलना गर्ने गरिएको छ । पशुपति क्षेत्र भारतीय यौनकर्मी महिलाको अखाडा बनेको देखिन्छ । माइती नेपालकी कानुन अधिकृत उमा तामाङका अनुसार भारतीय यौनकर्मी महिलाहरूले पशुपति क्षेत्रलाई आफ्नो व्यवसायको आधारमा बनाएका छन् । यो क्षेत्रमा पछिल्लो समय यौन गतिविधि खतरानाक रूपमा मौलाइरहेको उनको भनाइ छ ।

उद्धार गरिएका महिलाहरू ग्राहक खोज्न पशुपति क्षेत्र सजिलो हुने भएकाले यही क्षेत्रलाई आफ्नो व्यावसायिक अखडा बनाउँदै आएको बताउँछन् । ग्राहक खोज्ने काम पनि त्यही व्यवसायमा संलग्न रहेका प्रौढ महिलाले गर्ने गरेका छन् । पशुपति क्षेत्रमा यौन व्यवसाय चलाउनेले नै प्रत्येक महिना आफूहरूको रगत परीक्षण गर्ने गरेको उद्धार गरिएका महिलाहरू बताउँछन् ।

अर्को रोचक कुरा के छ भने पशुपति क्षेत्रमा भारतीय दर्शनार्थी नै उनीहरूका ग्राहक बन्ने गरेका छन् । पशुपतिमा दर्शन गर्न आउने भारतीय दर्शनार्थीले नै भारतीय यौनकर्मीसँग सम्बन्ध बनाउने गरेको यौनकर्मी महिलाहरूको भनाइ छ । यस कामका लागि यहाँका होटल प्रयोग हुने गरेका छन् । होटेलमा दलाल जाने गरेको र त्यहाँ मोलमोलाइ गरी रकम निश्चित भएपछि यौनकर्मी पठाउने गरिएको उद्धार गरिएका महिलाहरू बताउँछन् ।