‘संविधानको पालना र संवैधानिक जिम्मेवारी नै मार्गनिर्देशक सिद्धान्त’ -राष्ट्रपति पौडेल

‘संविधानको पालना र संवैधानिक जिम्मेवारी नै मार्गनिर्देशक सिद्धान्त’ -राष्ट्रपति पौडेल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताएका छन् । 

राष्ट्रपतिमा निर्वाचित भएपछि सङ्घीय सांसद र प्रदेशसभा सदस्यलाई राष्ट्रपति कार्यालयमा साक्षात्कार तथा धन्यवाद दिन आज आयोजित समारोहमा पौडेलले राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात् गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहने उल्लेख गरे । 

उनले भने, “संविधान निर्माण गर्ने प्रक्रियामा सहभागी रहेर काम गर्ने अवसर प्राप्त गरेका कारणले पनि संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति म सचेत रहने विश्वास दिलाउन चाहन्छु । वर्तमान संविधानले नेपाल राष्ट्रलाई मार्गदर्शन गर्ने कुराप्रति सदैव सजग रहने प्रण गर्दछु ।” 

आवधिक निर्वाचन लोकतन्त्रको प्राणवायु भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपालमा स्थानीय तह, प्रतिनिधिसभा, प्रदेशसभादेखि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा सबैमा बधाई तथा धन्यवाद ज्ञापन गरे । 

“यस महत्वपूर्ण घडीमा मुलुकलाई यहाँसम्म ल्याउन अहम् भूमिका खेल्ने सहिद तथा अग्रजप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । संविधानको पालना र संरक्षण गर्ने विषय अबको प्रमुख दायित्व र कर्तव्य हुनेछ भन्ने प्रष्ट पार्न चाहन्छु । गणतान्त्रिक नेपालको राष्ट्रपतिबाट नेपाली जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति म सदैव सचेत छु र भविष्यमा पनि रहनेछु”, उनले भने । 

राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने राष्ट्रपति पौडेलले प्रण गरेका छन् । संविधानले नेपालका तमाम जनतालाई असिम अधिकार प्रदान गरेको उल्लेख गर्दै उनले यसको जगेर्ना गर्दै राष्ट्रलाई स्थायित्व दिन सबैको परम कर्तव्य भएको बताए । पटकपटकका नयाँनयाँ प्रयोग नेपालले भोग्न सहज नहुने उनको भनाइ थियो ।

निर्वाचित जनप्रतिनिधिले संविधान र कानुनको मर्म तथा भावनालाई अगीङ्कार नगरी शासन सञ्चालन गर्दा व्यक्ति मात्र नभएर संस्थाप्रति समेत नागरिकका आस्था र विश्वास गुम्दै जाने कुरामा सबै सचेत हुनुपर्नेमा राष्ट्रपति पौडेलको जोड थियो । लोकतान्त्रिक शासन व्यवस्थामा लोकतान्त्रिक संस्था बलिया र कानुनसम्मत भएनन् भने त्यस्ता संस्थाप्रति नागरिकका विश्वास धर्मराउने, व्यवस्थाप्रति वितृष्णा जाग्न सक्ने हुनाले यसतर्फ सबै सजग रहन जरुरी छ भन्नेमा आफू दृढ रहेको उनले बताए । 

प्राप्त राजनीतिक उपलब्धिको सदुपयोग गर्दै तीव्र आर्थिक, सामाजिक रूपान्तरणमा ध्यान दिन नसकेमा अन्ततः प्राप्त उपलब्धि माथि नै प्रहार हुन सक्नेतर्फ सबै गम्भीर हुन आवश्यक रहेको उनले उल्लेख गरे । 

राष्ट्रपति पौडेलले अबको बाटो दिगो शान्ति, विकास, सुशासन र समृद्धि रहेको र यसतर्फ सङ्घीय सरकार तथा सङ्घीय संसद् र प्रदेश सरकार तथा प्रदेशसभाका सदस्यको सकारात्मक भूमिकाको अपेक्षा गरे । उनले सङ्घ, प्रदेश र स्थानीय तहका साथै निजी क्षेत्रको सहकार्यमा उच्चतम् प्रतिफल प्राप्त गरी प्राप्त प्रतिफलको समुचित वितरणबाट जनताको इच्छा र आकाङ्क्षा सम्बोधन गर्नुपर्नेतर्फ सबैको ध्यान जाने विश्वास व्यक्त गरे । 

मेलमिलाप राष्ट्रिय एकताका माध्यमबाट कठिन समयमा पनि समस्याको सहज समाधान निकाल्न सकेको इतिहास गर्दै सबै एकताबद्ध हुन जरुरी रहेको उनको भनाइ थियो । नेपालको संविधानको धारा ६२ बमोजिम आफूलाई गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपतिका रुपमा निर्वाचित गराउने सम्पूर्ण सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यप्रति राष्ट्रपति पौडेलले धन्यवाद ज्ञापन गरे । 

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री, सङ्घीय सांसद, प्रदेशका मुख्यमन्त्री, प्रदेशसभाका सदस्यलगायत सहभागी थिए ।

Logo