७८ हजार लुट्न माइक्रो फाइनान्समा कार्यरत युवतीको हत्या

७८ हजार लुट्न माइक्रो फाइनान्समा कार्यरत युवतीको हत्या

केन्द्रबिन्दु
0
Shares

पाँचथर । मङ्गलबार पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जङ्गलमा हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ ।

एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३ गोपेटारस्थित शाखामा कार्यरत कर्मचारी सुजाता तामाङको साथमा रहेको रु ७८ हजार ५०० लुटेर उनको हत्या गरिएको अनुसन्धानमा फेला परेको पाँचथर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त माइक्रो फाइनान्सद्वारा सञ्चालित दुई समूहको मासिक बैठक सकेर जोरपोखरी फर्कदै गरेकी तामाङलाई जङ्गलको बीचमा रहेको गोरेटो बाटोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

मङ्गलबार अपराह्न पौने ४ बजे विद्यालयबाट घर फर्कने क्रममा एक शिक्षकले तामाङको शव बाटोभन्दा करीब ३० मिटर तल देखेर प्रहरीलाई जानकारी गराएपछि जोरपोखरीस्थित प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको थियो ।

झोलामा रहेको नगद लुट्ने क्रममा झोला चुँडिएको र त्यहाँ रहेको नगद लुटिएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए । मृतक तामाङको घाँटी, हात र पेटमा धारिलो हतियार प्रहार गरिएको थियो ।

प्रहरीका अनुसार तामाङले दिउँसो करीब ३ बजे आफ्ना बाबुलाई फोन गरेर आफू आफू कार्यक्षेत्रमामा रहेको जानकारी दिए । सोही समय आसपासमा उनका एक केटा साथीले उनी बैठकमै रहेको समयमा फोन गरेका थिए ।

पछि तामाङले लामो समय फोनमा कुराकानी गरेको पाइएको प्रहरीले जनाएको छ । यस आधारमा तामाङको ३ बजेदेखि ३ः३० बजेभित्र हत्या भएको प्रहरीको अनुमान छ ।

प्रहरीले तामाङबारे राम्रोसँग जानकारी भएका व्यक्तिबाट हत्या भएको अनुमान गरेको छ । “उनीसँग पैसा छ भन्ने जान्ने मान्छेबाटै हत्या भएको हुनुपर्छ”, प्रहरी निरीक्षक पौडेलले भने, “कसैले सूचना दिएर वा बाटो ढुकेर हत्या गरिएको हुनुपर्छ ।

इलामको माइजोगमाई गाउँपालिका–५ सोयाङ घर भएकी २० वर्षीया तामाङ केही महीनादेखि एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३ गोपेटारस्थित शाखामा फिल्ड कर्मचारीको रुपमा कार्यरत थिइन् ।

उनी इलामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत रहेको खुलेको छ । घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीले रकम सङ्कलन गरेर हिँडेकी तामाङबारे कसैले हत्यारालाई सूचना दिएको वा उनीबारे हत्यामा संलग्नले नियमित पिछा गरेको हुनसक्ने अनुमान गरेको छ ।

Logo