प्रहरीले बरामद गरेको चार किलो सुन राजस्वमा पुग्दा तामा !

प्रहरीले बरामद गरेको चार किलो सुन राजस्वमा पुग्दा तामा !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

१९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलो सुनसहित तीन व्यक्तिलाई पक्राउ गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो । प्रदेश ३ प्रहरी कार्यालय हेटौँडा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले बरामद गरेको सुनसहित तीन आरोपीलाई सार्वजनिक गरेको थियो ।

प्रहरीले यसरी बरामद गरेको सुन राजस्व अनुसन्धान विभागमा तत्कालै दाखिला गर्नुपर्छ । तर राजस्व अनुसन्धान विभाग भन्दै छ, ‘धादिङमा बरामद भएको भन्दै प्रहरीले बुझाएको सुन होइन, तामा र ढलौट मिसिएको धातु हो ।’

इलाका प्रहरी कार्यालय गजुरीका इन्स्पेक्टर नवराज ढुंगेल सुन नै बरामद गरेको विश्वासमा सञ्चारमाध्यममा सूचना दिएको बताउँछन् । बरामद भएको सुन नै नक्कली हुन सक्ने अथवा बरामद भएपछि राजस्व अनुसन्धानसम्म पुर्‍याउँदा साटिएको हुन सक्ने दुवै सम्भावना छन् । विभागका महानिर्देशक दीर्घराज मैनाली यस्तो मामिला विभागमा पहिलोपटक आएको बताउँछन् । ‘हामी त छक्कै परेका छौं,’ उनले भने ।

राजस्व अनुसन्धान विभागले सुनचाँदी, रत्न तथा आभूषण महासंघको सहयोगमा परीक्षण गराउँदा तामा र ढलौट मिसिएको धातु भएको पुष्टि भयो । अनुसन्धान विभागले सो धातु स्वामित्वमा लिन मानेन । बरामद भएको धातुसहित सबै अभियुक्तलाई विभागले धादिङ प्रहरीमै फिर्ता पठाइदिएको छ ।

परीक्षणका क्रममा सुन भनिएको धातुको बिस्कुटको तौल पनि असमान भेटिएको छ । ‘हामीले तौल जोख्दा क्रमशः ९९२, ७७२, ६६५ र ६६८ ग्राम पाइयो,’ महासंघका कार्यकारी सदस्य तामाङले भने, ‘सामान्यतया सुनको बिस्कुट हजार ग्राम तौलको हुन्छ ।’
नयाँ पत्रिकाबाट

Logo