Don't Missराष्ट्रियसमाचार

निर्मला प्रकरणमा पक्राउ परेका रावलमाथि पुनः बयान शुरु

काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेका प्रदीप रावलमाथि अनुसन्धान जारी छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नियन्त्रणमा राखेका रावलको बयान आज विहान ७ बजेदेखि पुनःशुरु भएको हो ।

आइजीपी सर्वेन्द्र खनाल २ बजेराति फिर्ता भएपछि रोकिएको बयान शुरु भएको हो। सिआइवी प्रमुख डिआइजी निरज शाही, डिएसपी कवित कट्वाल र अनुपम शमशेर जबराले रावलको बयान लिएका थिए।

रावलको डिएनए परीक्षणको रिपार्ट आएको छैन। शंका रहेकाले उनलाई थप बयान लिन थालिएको सिआइवी स्रोतले जनाएको छ । मंगलबार उनको डिएनए परीक्षणका लागि पठाइएको थियो। सिआइवीले पछिल्लो पटक डिएनए परीक्षण गरिएका व्यक्ति रावल नै हुन । उनलाई सोमवार सिआइबीले नियन्त्रणमा लिएको थियो।

बुधबार दिनभर गृह मन्त्रालयलमा गृहमन्त्री रामबहादुर थापा बादल लगायत उच्च अधिकारीसहितको बैठकले विशेषज्ञ टोली बनाउने बारेमा छलफल गरिरहँदा सिआइवीले भने पक्राउ परेका रावलमाथि अनुसन्धान जारी राखेको थियो।

बुधबार दिउसो ४ बजे गृहमन्त्रालयबाट प्रहरी प्रधान कार्यालय पुगेका आइजीपी खनाललाई सिआइवी प्रमुखले थप शंकासहित रावललाई नियन्त्रणमा लिएको जानकारी गराएका थिए । यद्यपि ६ बजे मात्रै आइजीपीलाई रावलमाथि अनुसन्धान गरेको प्रगति विवरणबारे जानकारी गराएपछि आइजीपी खनाल आफै राती १० बजे सिआइवी पुगेका थिए। उनी रावलको बयानसँगै २ बजे मात्रै सिआइवीबाट निवास फर्केका थिए।

रावल साउन ११ गते भारत मामाघर गएर नेपाल फर्केका थिए। उनलाई सिआइबीको तत्कालिन अनुसन्धान टोलीका डिएसपी अंगुर जिसीले सोधपुछ गरी छाडेको थियो। प्रहरीले त्यसरी छाडेपछि उनी पुनः भारत गएका थिए।

एक हप्ता अघि कञ्चनपुरबाट ७ जनालाई अनुसन्धानमा ल्याउँदा रावललाई पनि ल्याइएको थियो। सोमवार देखि रावललाई हिरासतमा राखिएको थियो। १८ बर्षीय रावलको डिएनए म्याच भएमा उनीविरुद्ध कारवाही अघि बढाउनेछ।

Comment here

SKIP THIS