‘महामारीलाई ख्याल ख्याल नसोचौं’ : सांसद गगन थापा

‘महामारीलाई ख्याल ख्याल नसोचौं’ : सांसद गगन थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोभिड १९ को संक्रमण रोक्न सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णपालना गर्न पूर्वस्वास्थ्य मन्त्री एवं नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले आग्रह गरेका छन् ।

अहिले सरकारले हरेक व्यवहार पूर्ण सजगताका साथ सञ्चालन गर्नु पर्ने बताएका छन् । आज काठमाडौं महानगरको वडा ७, ९ र ३० मा आयोजना गरिएको गुर्जो रोपण तथा वितरण कार्यक्रम शुभारम्भ गर्दै उनले भने-‘कोभिड संक्रमणबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनु पर्नेहरुका लागि अस्पतालहरुमा ठाउँ भेट्न कठिन भइसक्यो । सबै अस्पताल विरामीले भरिएका छन् ।

अस्पतालमा भएको यो चाप घटाउन नागरिकले स्वास्थ्य सेवा मापदण्डको पालना गर्नुपर्छ । ‘गुर्जोमा रोग प्रतिरोधात्मक क्षमता छ । यसैकारण सरकारले यसलाई बिशेष महत्व दिएको हो । तर गुर्जोले काम गर्छ भनेर खानपान र जीवनशैलीलाई अस्तव्यस्त बनाउने हो भने संक्रमण घट्नुको सट्टा बढ्छ । त्यसैले सबै काममा सन्तुलन कायम गरौं ।’ थापाको भनाइ थियो ।

कार्यक्रम थालनीमा स्थानीय ९७ बर्षिय आशाकाजी महर्जनलाई गुर्जोका विरुवा प्रदान गरिएको थियो । आजै रातोपुलदेखि कालोपुलसम्मको सडक खण्डमा गुर्जो रोपिएको छ । कार्यक्रम रुद्रमती सरोकार समाज र वातावरण संरक्षण अभियानको संयुक्त आयोजनामा सम्पन्न भएको हो । यसमा महानगरका वडा ७, ९ र ३०, सांसदको कार्यालय काठमाडौं क्षेत्र नं. ४, फोहोरमैला व्यवस्थापन संघ, फ्लोरिकल्चर एशोसिएसन र ह्याम्स स्कूलको सहकार्य रहेको थियो । गुर्जोका विरुवा कमलबहादुर राजलवटले उपलब्ध गराएका हुन् ।

कार्यक्रममा महानगरको वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोल, वडा ९ का अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठ र वडा ३० का अध्यक्ष दलबहादुर कार्कीले आफ्ना वडाहरुमा स्थानीयबाट गुर्जोका विरुवाको धेरै माग रहेको बताए । रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीका अनुसार आज १ हजार विरुवा वितरण हुनेछन् । एक घर एक विरुवाका दरले सबै घरलाई विरुवा उपलब्ध गराइनेछ ।

Logo