पूर्वमा डेंगुको संक्रमण उच्च हुँदै

धरान,

पूर्वी नेपालका जिल्लामा डेंगुको संक्रमण तीव्र भएको छ । सुनसरीको धरानमा महामारीकै रुप लिएको डेंगु मोरङपछि झापामा पनि भेटिएको हो ।

पछिल्लो तीन दिनमा झापामा आठ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार भद्रपुरस्थित मेची अस्पतालमा एक, बिर्तामोडको मनमोहन सामुदायिक अस्पतालमा तीन, बिर्तासिटी अस्पतालमा दुई र दमक अस्पतालमा डेंगु संक्रमित दुईजना बिरामी उपचाररत छन् ।

विगत ४० दिनमा ११ जिल्लाका ५६१ जना सो रोगबाट प्रभावित भएका छन् । डेंगु रोगबाट प्रभावितहरुको संख्या अझै बढ्न सक्ने इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए । उनले भने, ‘अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन, बढ्दै जाने देखिन्छ ।’

स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन कुलप्रसाद पौडेलका अनुसार झापामा डेंगु रोकथामबारे कुनै कार्यक्रम अघि बढाइएको छैन । ‘रोकथामका उपाय नअपनाए यसले महामारीकै रुप लिन सक्छ,’ उनले भने, ‘यस विषयमा झापाका कुनै पनि स्थानीय तह संवेदनशील भएको पाइँदैन ।’

आधारभूत स्वास्थ्य सेवा अन्तर्गत महामारी व्यवस्थापन गर्ने काम स्थानीय तहको भएको पौडेल बताउँछन् । उनले स्वास्थ्य कार्यालयसँग बजेट नभएको प्रतिक्रिया दिए । स्थानीय तहले नसके प्रदेश सरकारले अग्रसरता देखाउनुपर्ने भन्दै अविलम्ब नियन्त्रणको विकल्प नभएको उनले बताए । डेंगु नियन्त्रणका लागि एक नम्बर प्रदेश सरकारले सचेततापूर्वक आफ्नो क्रियाकलाप सुरु गरिसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

गत वर्ष पनि झापामा डेंगुको संक्रमण तीव्र भएको थियो । गत वर्ष पाँच सय ३५ जना संक्रमित भएको फोकल पर्सन पौडेल बताउँछन् । तीमध्ये झण्डै ४ सय जना बिरामी बिर्तामोड नगरपालिका आसपासका थिए । गत वर्ष उपचारका क्रममा दुई जनाले ज्यान गुमाएका थिए । यस वर्ष पनि ५ सय भन्दा धेरैमा यो रोग देखापरिसकेको बताइएको छ ।
नयाँ पत्रिकाबाट