ट्रकले म्याजिकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु, १३ घाइते

सिरहा । ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिँदा भ्यानमा सवार तीनजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका –११ मा सोमबार दिउँसो भएको दुर्घटनामा १३ जना यात्रु घाइते भएका छन् ।

उनीहरुमध्ये ७ जनाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल तथा नरसिंह होम र ६ जनालाई थप उपचारको लागि धरान पठाइएको प्रहरीले जनाएको छ ।

ना १ ज ७४५४ नम्बरको म्याजिक भ्यानलाई सोही दिशातर्फ गइरहेको ना ८ ख २४१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । म्याजिकमा सवार सिरहाको पुरानो चोहर्वा निवासी ४० बर्षीय गणपति महरा, सिरहाकै बरियारपट्टी गाउँपालिकाका ७० बर्षीया बचियादेवी राम र पहिचान नखुलेकी एक महिलाको घटनास्थलमै मृत्यु भएको हो ।