आईसीसी टी–ट्वेन्टी विश्वकप : नेपालको सम्भावना कायमै

काठमाडौं,

सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत नेपालले आगामी शनिबार कुबेतसँग र आइतबार सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । यी दुवै खेलमा जित हात पारे नेपालले शीर्ष स्थानमा रहँदै टी ट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर (विश्वस्तरीय छनोट) खेल्ने अवसर पाउनेछ । विश्वस्तरीय छनोट प्रतियोगिता आगामी अक्टोबरमा संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुनेछ ।

१४ टोलीको सहभागिता रहने विश्वस्तरीय छनोट प्रतियोगिताको शीर्ष स्थानमा आउने ६ टोलीले भने सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टीट्वेन्टी विश्वकप खेल्ने अवसर पाउनेछन् ।

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा बुधबार नेपालले मलेसियामाथि जित हात पारेको छ । वर्षाका कारण ९ ओभरमा छोट्याइको खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराउन सफल भएको हो । मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१ बलमा ५१ रन बनाई विस्फोटक ब्याटिङ गरे । मल्लले ५ चौका र ३ छक्का प्रहार गरे। अर्का ओपनर प्रदीप ऐरीले १४ बलमा १२ रन बनाए । विनोद भण्डारीले ८ बलमा १३ रन बनाए । पारसलाई स्वास्थ्य समस्या भएपछि नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गरेका थिए । पहिलो खेलमा भने नेपाल कतारसँग पराजित भएको थियो ।