अवैध हातहतियार नियन्त्रणमा सक्रिय प्रहरीः छ महिनामा १३४ जना पक्राउ

अवैध हातहतियार नियन्त्रणमा सक्रिय प्रहरीः छ महिनामा १३४ जना पक्राउ

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ। काठमाडौँ महानगरपालिका–७ घर भएका सुलभ भन्ने सुरज श्रेष्ठ १ थान पेस्तोल, ४ राउण्ड गोली र म्याग्जिनसहित पक्राउ परे । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट कटुवा पेस्तोल २ थान र सोही पेस्तोलको गोली १ राउण्डसहित उदयपुरका जंगे माझी पक्राउ परे।

मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट पेस्तोल १ थान र गोली १ थानसहित बाजुराका देव बहादुर थापा र नवलपरासी पूर्वका वीर बहादुर थापा मगर पक्राउ परे। श्रेष्ठ, माझी, थापा र थापा मगर प्रतिनिधि पात्र मात्रै हुन्।

पछिल्लो समय प्रहरीले देशभरबाट यसैगरी सयौँको संख्या अवैध हातहतियारसहित गैरकानूनी गतिविधि गर्नेहरूलाई पक्राउ गरेको छ। अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानूनी दायरामा प्रहरीले सक्रियता बढाएको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा नै देशभर विभिन्न स्थानबाट अवैध हातहतियार सहित १ सय ३४ जना मानिस पक्राउ परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। पक्राउ परेकामध्ये पुरूष १ सय ३० जना र महिला ४ जना छन्। तीमध्ये ६ जना विदेशी नागरिकसमेत छन्।

सो अवधिमा काठमाडौं उपत्यकाबाट १७ जना, कोशी प्रदेशबाट १८ जना, मधेश प्रदेशबाट २५ जना, बागमती प्रदेशबाट १३ जना, गण्डकी प्रदेशबाट १४ जना, लुम्बिनी प्रदेशबाट २१ जना, कर्णाली प्रदेशबाट १२ जना र सुदूरपश्चिम प्रदेशबाट १४ जना पक्राउ परेका छन्। साथै अवैध हातहतियार अन्तर्गत जम्मा ९४ मुद्दा दर्ता भएका छन्।

अवैध हातहतियार नियन्त्रणमा प्रहरी सक्रियताको कारण विभिन्न व्यक्तिहरूलाई हतियारसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए। प्रहरीको यस्तो अभियानले देशमा शान्ति सुरक्षा कायम राख्न सहज भएको उनको दाबी छ। ‘आम नागरिकले शान्ति सुरक्षा, अमन चयन कायम भएको महसुस गरेका छन्,’ प्रवक्ता ढकाल भन्छन्, ‘प्रहरीले सूचना संयन्त्रलाई बलियो बनाउँदै काम गरेको कारण हातहतियार कारोबारी र हतियार नियन्त्रण प्रभावकारी बनेको छ । सरोकारवाला निकायबीचको सहकार्यले यस कार्यमा थप मद्दत पुगेको छ।’

उनका अनुसार सो अवधिमा पेस्तोल ६ थान, रिभल्वर ४ थान, कटुवा पेस्तोल १७ थान, बन्दुक ६ थान, भरुवा बन्दुक ८१ थान र एयर गन २ थान गरी जम्मा १ सय १६ थान अवैध हतियार बरामद भएको छ । सो अवधिमा पेस्तोलको गोली ५३ राउण्ड, रिभल्वरको २२ राउण्ड, कटुवाको १७ राउण्ड, बाह्रबोरको १९ राउण्ड, बन्दुकको २० राउण्ड, भरूवाको ९३ राउण्ड र अन्य ३ राउण्ड गरी जम्मा २ सय २७ राउण्ड गोली बरामद भएको छ।

बरामदमध्ये काठमाडौँ उपत्यकाबाट ७ थान हतियार र १४ राउण्ड गोली, कोशी प्रदेशबाट १८ थान हतियार र १५ राउण्ड गोली, मधेश प्रदेशबाट १४ थान हतियार र ६३ राउण्ड गोली, बागमती प्रदेशबाट १८ थान हतियार र २१ राउण्ड गोली, गण्डकी प्रदेशबाट ९ थान हतियार, लुम्बिनी प्रदेशबाट २५ थान हतियार र ७१ राउण्ड गोली, कर्णाली प्रदेशबाट १३ थान हतियार र ६ राउण्ड गोली तथा सुदूरपश्चिम प्रदेशबाट १२ थान हतियार र ३७ राउण्ड गोली छन्। जसमा भरूवा बन्दुक र कटुवा पेस्तोलको संख्या अन्यको भन्दा बढी छ।

तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट, जबरजस्ती चन्दा असुली तथा दुर्लभ वन्यजन्तुको शिकारीमा यस्ता हातहतियार प्रयोग भएको देखिन्छ। अवैध हातहतियार नियन्त्रण तथा कारोबारीलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरीले देशभरिनै विशेष अभियान चलाएको प्रहरी नायव महानिरीक्षक ढकालले बताए।

अभियानको प्रभावले आम नागरिकबाट सूचना प्राप्त गर्न सहज भएको र यसबाट अवैध हातहतियार नियन्त्रण गर्न प्रहरीलाई सफलता मिलेको उनको भनाइ छ। नियन्त्रणमा लिइएका व्यक्ति तथा हतियार सम्बन्धमा हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा अनुसन्धान एवम् कारवाही हुने गरेको छ।

Logo