आर्थिक सहयोगको नाममा ठगी गर्ने तीन जना पक्राउ

आर्थिक सहयोगको नाममा ठगी गर्ने तीन जना पक्राउ

केन्द्रबिन्दु
112
Shares

विराटनगर। सर्वसाधारणलाई आर्थिक सहयोग गर्ने भन्दै विभिन्न माध्यमले ठगी गर्ने काममा संलग्न रहेको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैँचा नगरपालिका–८ बाट तीनजनालाई पक्राउ गरेको छ।

विपन्न परिवारलाई आर्थिक प्रलोभनमा पारी ठगी गर्ने एकजना महिलासहित अनलाइन ठगीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ मंगलबार साँझ पक्राउ गरेको हो।

स्थानीय विपन्न परिवारलाई सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भइ काठमाडौं बस्दै आएकी २३ वर्षीया सुनिता खत्रीले आर्थिक सहयोगका नाममा ठगी गरेको प्रहरीको भनाइ छ।

उनले ‘डब्लु बिएससी’ कम्पनीबाट गरिब र असहायलाई आर्थिक सहयोगको लागि आएको भनी प्रतिव्यक्ति १ हजार, १५ सय र ५ सयका दरले रकम वितरण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

रकम वितरण गरेर उनीहरुको फोटो खिच्ने र नेपाली नागरिकताको फोटोकपी लिने गरेको पाइएको छ। त्यस्तो गतिविधि भइरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली परिचालन भएको थियो।

टोलीले नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा गाउँमा खिचेका व्यक्तिहरुको फोटो र नेपाली नागरिकताको फोटोहरु बंगलादेशी नागरिक पल्लाबी ढाका बस्ने ४९ वर्षीय महमद खालिद हुसेन र बंगलादेशकै सीतागन्ज घर भई हाल काठमाडौ नयाँ बजारमा बस्दै आएका ३७ वर्षीय महमद तानबिर हुसेन पनि संलग्न रहेको पाएको थियो।

उनीहरुले सर्वसाधारणको नागरिकता र फोटो दुरुप्रयोग गरी गैरकानूनी रुपमा इसेवा र खल्ती जस्ता अनलाइन खाताहरु खोली आर्थिक अपराध, अनलाइन ठगी गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।

प्रहरी टोलीले ठगीमा संलग्न महमद हुसेन र महमद तानबिर हुसेनलाई सुन्दरहरैँचा नगरपालिका–४ बलियाबाट पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रयोग नभएको एनसेल कम्पनीको सिमकार्ड, राहदानी, मोबाइल फोन, नगद र एटीएम कार्ड समेत प्रहरीले बरामद गरेको छ। उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Logo