गृहमन्त्री लामिछानेलाई भेटेर दिलिपका परिवारले शहीद घोषणा गर्न माग गर्दै बुझाए ६ बुँदे ज्ञापनपत्र

गृहमन्त्री लामिछानेलाई भेटेर दिलिपका परिवारले शहीद घोषणा गर्न माग गर्दै बुझाए ६ बुँदे ज्ञापनपत्र

केन्द्रबिन्दु
126
Shares

काठमाडाैँ। अवैध उत्खननको विरोध गर्दा क्रसर व्यवसायीबाट मारिएका धनुषाका दिलीप महतोलाई पर्यावरण शहीद घोषणा गर्न माग गर्दै उनको परिवारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ज्ञापनपत्र बुझाएका छन्।

६ बुँदे माग सहित बुधबार साँझ गृह मन्त्रालयमा लामिछानेलाई भेटेर दिलिपका परिवारका सदस्यहरुले ज्ञापनपत्र बुझाएका हुन्।धनुषाको मिथिला नगरपालिका स्थित घर नजिकै रहेको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न जाँदा २०७६ पौष २५ गते घाइते बनाई दिलिपलाई क्रसर संचालकले खोलामै टिपरले किचेर हत्या गरेका थिए।

उक्त घटनामा धनुषा जिल्ला अदालतले आरोपित ७ जनामध्ये ३ जनालाई दोषी ठहर गरेको छ। सरकारी वकिलले दिएको पुनरावेदनमा उच्च अदालतले पनि जिल्ला अदालतकै फैसला सदर गरेको छ।

उक्त फैसलाले आंशिक मात्र न्याय प्राप्त भएको भन्दै दिलिपका परिवारले बांकी ४ जनालाई पनि कारबाही दायरामा ल्याउन माग गरेका छन्। उनको परिवारले अनुसन्धानमा त्रुटी भई हालसम्म यस घटनाका मुख्य योजनाकारहरु अझै कारबाहीको दायरामा नपरेको बताउँदै उच्चस्तरीय छानबिन समिति गठन गरी मुख्य योजनाकारहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने र दोषीहरुलाई कानून बमोजिम कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका हुन्।

Logo